- भक्तराज रसाइली

काठमाण्डौ । मार्जिन कारोबार सुविधाको औपचारिक सुरुआत आगामी साता हुने भएको छ ।

सिडिएससीले गत भदौ ३० गते बसेको संचालक समितिले धितोपत्र केन्द्रीय निक्षेप सेवा (पाँचौँ विनियमवली,२०७६) लाई पास गरेर हिजो असोज १ गतेदेखि लागू हुने गरी कार्यान्वयनमा ल्याएको छ । मार्जिन कारोबार खाता खोल्ने प्रयोजनका लागि सिडिएससीले आवश्यक सिस्टम तयार गरी विनियमवलीलाई नियामक धितोपत्र बोर्डबाट एप्रुभ गरिसकेपछि सिडिएससीको सञ्चालक समितिले समेत पास गरिएको सिडिएससीले जानकारी दिएको छ।

यता मार्जिन कारोबार प्रदान गर्ने पक्षका स्टक ब्रोकरहरुको सिस्टम तयारी अवस्थामा रहेको बताइन्छ । स्टक ब्रोकर एसोसिएसनका अध्यक्ष भरत रानाभाटले मार्जिन कारोबार प्रक्रिया सुरु भइसकेको उल्लेख गर्दै लगानीकर्ताहरु मार्जिन ऋण लिन आए सेवा दिन तयार रहेको बताए । औपचारिक सुरुआत आगामी हप्ता हुने संकेत गरेका अध्यक्ष रानाभाट भन्छन्, ‘सुरु गरेको औपचारिक जानकारी दिन्छौँ ।’

नेप्सेले हालसम्म मार्जिन कारोबार सुविधा प्रदान गर्ने आफ्ना २१ सदस्य धितोपत्र दलाल व्यवसायीलाई अनुमति प्रदान गरिसकेको छ । नेप्सेले भर्खरै सार्वजनिक गरेको आव २०७६/७७ का लागि मार्जिन कारोबार योग्य धितोपत्रहरुमा वाणिज्य बैंक १२, विकास बैंक ७, लघुवित्त ९, हाइड्रोपावर ३, होटल १ र अन्य समूह १ गरी जम्मा ३३ सूचीकृत कम्पनी रहेको जनाएको छ।

धितोपत्र केन्द्रीय निक्षेप सेवा (पाँचौँ विनियमवली,२०७६) अनुसार मार्जिन कारोबार सुविधाका लागि सेवाग्राहीले रु ५० मा खाता खोल्नुपर्ने र त्यसको वार्षिक नवीकरण शुल्क १ सय रुपैयाँ हुने उल्लेख छ । मार्जिन खातामा प्रति हस्तान्तरण शुल्कको हकमा भने रु २५ लाग्ने जनाइएको छ।