- भक्तराज रसाइली

काठमाण्डौ । मार्जिन कारोबार सुविधा कार्यान्वयनको अन्तिम चरणमा धितोपत्र दलाल व्यवसायी (स्टक ब्रोकरहरु) ले बखेडा सिर्जना गरेका छन् ।

पूँजीबजारका नियामकीय निकायहरूबीचको जुँगा लडाइँपछि बल्लतल्ल सुरु हुन लागेको मार्जिन कारोबार सुविधामा अन्तिम अवस्थामा ब्रोकरहरुको अवरोध सिर्जना हुन सक्ने देखिएको हो । मार्जिन कारोबार सुविधा सञ्चालनका लागि सिडिएस एण्ड क्लियरिङ लिमिटेडले गत असोज १ गते सिस्टमलाई अन्तिम रुप दिँदै स्टक ब्रोकरहरुलाई सेवा सञ्चालनको ढोका खोलेको थियो । तर यो प्रक्रियाको १० दिन बित्दासमेत ब्रोकरहरुले लगानीकर्ताहरुलाई यो सेवा प्रारम्भ गर्न सकेका छैनन् ।

यही सातादेखि मार्जिन कारोबार सुविधा दिन पूर्णतयारी रहेको बताउँदै आएका ब्रोकरहरु हाल आएर अहिल्यै यो सेवा दिन नसक्ने भन्दै अनकनाउन थालेका छन् । बिजशालाले राखेको जिज्ञासामा स्टक ब्रोकर्स एसोसिएसनका अध्यक्ष भरत रानाभाट ब्रोकर इन्डस्ट्रीका साथीहरुसँग छलफल गरेपछि मात्र सुविधा दिन सकिने बताउँछन् । ‘गत मंगलबार सिडिएससीले आयोजना गरेको अभिमुखीकरण कार्यक्रममा हामीले ४÷५ वटा प्राविधिक समस्याहरुबारे अवगत गरायौँ’, उनी भन्छन्, ‘अब हामी नेपाल धितोपत्र बोर्ड त्यसै विषयलाई लिएर आगामी साता जाने र त्यसको हल गरेपछि मात्र मार्जिन कारोबार सुविधा उपलब्ध गराउन समर्थ हुनेछौं ।’

मार्जिन कारोबार सुरु गर्न देखिएका प्राविधिक समस्याका बारेमा बिजशालाले राखेको जिज्ञासामा रानाभाट बिच्किए । उनले भने, ‘यो तपाइँ (सञ्चारकर्मी) हरुलाई भन्ने कुरा होइन, हामी बोर्डलाई जानकारी गराउँछौँ ।’

उता नेपाल धितोपत्र बोर्डले असोज १ गते नेप्सेलाई मार्जिन कारोबार सुचारुका विषयमा जानकारी मागेकोमा आज शुक्रबार नेप्सेले  सूचना जारी गरी ब्रोकरहरुलाई यथाशीघ्र मार्जिन कारोबार सुचारु गर्न निर्देशन दिइसकेको छ । मार्जिन कारोबार सेवा उपलब्ध गराउन ब्रोकरहरुकै अनुरोधपछि यो सुविधा ल्याउन लागिएको नेप्सेस्थित उच्च अधिकारीको भनाइ छ ।

नेप्सेले अहिलेसम्म २१ ब्रोकर कम्पनीहरुलाई मार्जिन कारोबार सुविधाको अनुमति दिइसककोमा नेप्सेमा सूचीकृत ३३ कम्पनीहरुमा यो सुविधा लगानीकर्ताहरुले पाउने भएका छन् ।