– भक्तराज रसाइली

काठमाण्डौ । नेपाल स्टक एक्सचेन्ज लिमिटेड (नेप्से) ले बनाएको मार्जिन कारोबार सुविधा कार्यविधिमा भएको सर्त, सीमा र बन्देजले गर्दा दोस्रो बजार चलायमान हुनबाट वञ्चित भइरहेको छ ।

नेप्सेमा सूचीकृत कम्पनीहरुमध्ये ३३ वटा कम्पनीमा मात्र ब्रोकरहरुले मार्जिन ऋण प्रवाह गर्नुपर्ने बाध्यताकारी अवस्था रहेको छ । लगानीकर्ताले बजारबाट कुनै पनि बखत कुनै पनि स्क्रिप्टमा अवसर आउने देखेर नै छोटो अवधिका लागि मार्जिन ऋण लिई सेयर खरिदारी बढाउने भएकाले मार्जिनमा ३३ कम्पनीमात्र योग्य तोकिएको अवस्थाले समेत सेयर कारोबारीहरुलाई यो व्यवस्थाले खिच्न सकेको छैन । यसले गर्दासमेत बजारलाई विस्तारभन्दा पनि खुम्च्याउनैतिर नेप्से लागेको जानकारहरु बताउँछन् ।

यसैगरी मार्जिन ऋण प्रवाह गर्दा ब्रोकरसँग रहेको नेटवर्थको दुई गुणासम्म पाउने व्यवस्था रहेकोमा २ करोड क्रियाशील पूँजी राख्नुपर्ने व्यवस्था छ । क्रियाशील पूँजी कट्टा गरी बाँकी रहेको रकममध्ये कुनै एक लगानीकर्तालाई १० प्रतिशत सम्ममात्र ब्रोकरले मार्जिन ऋण उपलब्ध गराउने प्रावधान छ  । यसमध्ये  ब्रोकरबाट पाएको रकममध्ये पनि ३३ योग्य कम्पनीमा कुनै एक कम्पनीको सेयर किन्न १० प्रतिशत रकममात्र लगानी गर्ने अंकुश लगाइएको छ।

यस्तो अंकुश र संकुचन प्रावधानका कारण दोस्रो बजार चलायमान बन्न समेत सकिरहेको छैन । दोस्रो बजार चलायमान बनाउन मार्जिन कारोबारीले भोल्यूम बढाउँदा भने ब्रोकर र नियामक निकायलाई कमिसन बढेसँगै पूँजीगत लाभकर पनि बढ्ने सम्भावना अधिक हुन्छ । तर यसप्रति मार्जिन कारोबार अनुमति दिने निकायका रुपमा रहेको नेप्सेका अधिकारीहरुको ध्यान जान नसकिरहेको अवस्था छर्लंगै छ । अधिकाधिक कम्पनीमा मार्जिन ऋण प्रवाह हुन सकेको खण्डमा सक्रिय कारोबारीले मार्जिन कारोबारमार्फत कारोबार संख्या बढाएसँगै बजारले सकारात्मक लय समात्ने र रौनक पनि बढ्ने विश्लेषकहरु बताउँछन् । 

यसैगरी ब्रोकरहरुमार्फत प्रवाह हुने मार्जिन कारोबारको सीमा  ५० प्रतिशतमात्र छ जब कि बैंकको ६५ प्रतिशतसम्म मार्जिनसीमा रहेको छ । यदि यो सुविधालाई सफल बनाउने हो भने मार्जिनको सीमा समेत बढाउन नेप्सेले पहल गर्न आवश्यक ठहर्छ ।

बजारमा भनिएजस्तो ब्याजदर महँगो भएकै कारणले लगानीकर्ताहरुले मार्जिन कारोबारमा आकर्षण नदेखाएको पाइन्छ । ब्याजदरकै कारण मार्जिन कारोबार सुविधा नबिकेकोमा ब्रोकरहरु विश्वास गर्दैनन् । 

कसिसन रकममा बढोत्तरी हुने आशमा ब्याजदरमा समझदारी हुन सक्ने अधिकांश ब्रोकरहरु बताउँछन् ।

स्टक ब्रोकर्स एसोसिएसनका अध्यक्ष भरत रानाभाटले कारोबारमा आकर्षण बढाउन मार्जिन कारोबार कार्यविधि संशोधन गर्न नेप्सेसँग छलफल भइसकेको बताए । ‘नेप्सेले कार्यविधि संशोधन गरी एप्रूभ गर्न नियामक नेपाल धितोपत्र बोर्डसमक्ष पहल गरिने प्रतिवद्धता जाहेर गरिसकेको छ’, उनले भने, ‘नेप्से सकारात्मक छ, छिट्टै संशोधन हुनेमा हामी ढुक्क छौं ।’

कुनै एक लगानीकर्तालाई १० प्रतिशतमात्र मार्जिन ऋण प्रवाहको व्यवस्था अनि यसको सीमा बैंक बराबर वा सोभन्दा बढी हुनुपर्नेमा जोड दिएको रानाभाटको भनाइ छ । बजारमा छोटो अवधिमा कुनै पनि कम्पनीमा अवसर छोपी नाफा बुक गर्न ३३ कम्पनीमात्र सीमित गरिनु अत्यन्त दुखद भएको रानाभाटको बुझाइ छ ।

करिब ३० जना ब्रोकरहरु मार्जिन ऋण प्रवाह गर्न योग्य रहेको बताउँदै रानाभाटले करिब ४ अर्ब रुपैयाँ रकम दोस्रो बजार थपिँदा बजारले गतिसँगै चलायमान हुने उनको दाबी छ ।

ब्याजदर समझदारी हुँदै अधिक कमिसनका लागि मार्जिन कारोबार सुविधामा भएका अप्ठ्यारा प्रावधान हटाउनुपर्नेमा रानाभाट जोड दिन्छन् ।