-भक्तराज रसाइली
काठमाण्डौं । चन्द्र समशेरदेखि नै राजपरिवारको समेत रोजाई बनेको मार्सी चामल पछिल्लोपटक दुर्गा प्रसाईले प्रधानमन्त्री केपी ओली र नेकपाका अध्यक्ष प्रचण्डलाई मार्सी चामलको भात खुवाएपछि एकाएक चर्चाको शिखरमा पुग्यो । ओली र प्रचण्डले मार्सी चामलको भात खाइदिएर यसको यति धेरै मार्केटिङ गरिदिएकि हाल काठमाण्डौमा मार्सी चामल पाइने स्टोरहरुको व्यापार अचाक्ली बढेको छ । 

मार्सी चामल खरीद गर्न आउनेको भीडभाड देखेर स्टोर संचालकहरु समेत चकित छन् । 

मार्सी चामलको भात खुवाएर प्रसाईले ओली र प्रचण्डलाई प्रभावमा पार्न खोजेका आशयको समाचार भाइरल भएसँगै यो चामलको एकछाक नै भए पनि भात खाने(चाख्ने) मन सर्वसाधारणले समेत गरेपछि व्यापार चुलिएको हो । मार्सी चामलको औधी मागकै कारण प्रति केजी २५० रुपैयाँमै पनि हारालुछ भइरहेको छ । 

जुम्लाबाट किसानहरुले उत्पादन गरेका चामल संकलन गरी काठमाण्डौंमा आपूर्ति गर्दै आएको युनाइटेड लाइफलाइन वेभरेज प्रा.लि.का राजन तिमिल्सिनाका अनुसार मार्सी चामल पूर्ण अर्गानिक चामल हो । यसलाई स्वस्थ खानाका रुपमा लिइन्छ । ३ हजार मिटरभन्दा माथि पाइने यो चामल चन्दननाथ बाबाले कश्मिरबाट ल्याएर खेती सुरु गरेको पाइन्छ ।

हिमाली क्षेत्रका मानिसहरुले बिहान खाएर बेलुकीसम्म खान नपर्ने भएकाले अडिलो चामलका रुपमा लिइन्छ । यो धान रोपेर बाली तयार हुन झण्डै एकवर्ष नै लाग्ने तिमिल्सिनाको भनाई छ ।

मार्सीको चर्चा चुलिएसँगै पहिले मासिक ५ सय के.जी.को हाराहारीमा बिक्री हुने चामल हाल १० गुणा माग बढेर ५ हजार केजी भन्दा माथि पुगेको उनको भनाई छ । 

यसमा प्रशस्त क्यालोरिज, मिनरल्स, क्याल्सियम र पोटासियम रहेकोले पनि पोषिलो आहारको रुपमा यसको उच्च माग हुने गरेको भुक्तभोगी बताउँछन् ।

हुन त कालिकाटमा पनि मार्सी चामल पाउँछ तर क्वालिटी फरक छ जसलाई रेड मार्सी भनिन्छ  । जुम्लाको चाहिँ ब्राउन मार्सी हो । जुम्लामा मार्सीबाहेक चिनो चामल, कागुनो र ब्राउन राइस पनि पाइन्छ ।

रोचक प्रसँग त के छ भने अहिले जुम्लामा केही भू.पू मन्त्रीहरु पनि ब्ल्याक राइसको खेतीमा  लागेका छन् ।

मार्सी चामलकै चर्चा सुनेर तिमिल्सिनाको स्टोरमा किन्न पुगेकी  कालिकास्थान  निवासी सिर्जना खनाल यो चामलको खाना स्वादिलो हुने गरेको अनुभव सुनाउँछिन् । हिमाली ठाउँको चिसो हावापानीमा पाउने अर्गानिक उत्पादन भएकोले समेत धेरैको रोजाईमा मार्सी चामल परेको उनको भनाई छ ।