काठमाण्डौ । मर्जर र सो क्रममा आएका अनेक बाधा व्यवधानले लामो समयसम्म सेयर कारोबार गर्न नसकेका सेयरधनीहरुलाई मालामाल बनाउने क्पापिटल प्लान पाँचवटा बैंकबीच मर्ज भई बनेको एनसीसी बैंकले राष्ट्रबैंकमा बुुझाएको छ । 

नेपाल क्रेडिट एण्ड कमर्स(एनसीसी), इन्फ्रास्टक्चर डेभलपमेन्ट बैैंक, एपेक्स डेभलपमेन्ट बैंक, सुप्रिम डेभलपमेन्ट बैंक र इन्टरनेशनल डेभलपमेन्ट बैंकबीच मर्ज भई बनेको एनसीसी बैंकको एकीकृत बित्तीय कारोबार शुभारम्भको अवसरमा एनसीसी बैंकका प्रमुख कार्यकारी अधिकृत(सीइओ) रमेशराज अर्यालले १३ महिना भन्दा लामो समयदेखि प्रतिक्षारत् सेयरधनीलाई उत्साहित हुने खबर सुनाएका हुन् । 

५ वटा बैंकहरु मर्जपछि चुक्तापुँजी ४ अर्ब ६७ करोड पुुग्ने र त्यसमा सेयर स्वाप रेसियोमा आएको फरक रकम करिब ९९ करोड क्यापिटल रिजर्बलाई समेत जोड्दा तत्कालै चुक्तापूँजी ५ अर्ब ६६ करोड पुुग्ने अर्यालले जानकारी दिए । उनले ८ अर्ब पुर्याउन अपुुग रकमको बिषयमा समेत आफूहरुले स्पष्ट रुपमा क्यापिटल प्लान राष्ट्रबैंकलाई बुुझाएको उल्लेख गर्दै भने–‘चालु आर्थिक वर्षसम्म मर्ज भएका ५ वटै बैंकको सञ्चित मुनाफालाई पूँजीकृत गरिनेछ । सञ्चित मुनाफा सेयरधनीलाई वितरण गरेर ८ अर्ब पूँजी पुर्याउने एउटा विकल्प हामीसँग छ ।’ उनका अनुसार सो अवधिमा कुनै संस्था गाभ्ने प्रयासलाई पनि जारी राखिनेछ । यसको अर्थ हो मर्जपछिको एनसीसी बैंकका सेयरधनीले निकट भविष्यमै निकै राम्रो परिमाणमा बोनस सेयर पाउने छन् । सँगै हकप्रदको अफर पनि आउनेछ । 

सो कार्यक्रममा सीइओ अर्यालले सबै क्षेत्रको सहयोग रहे मर्ज भई बनेको एनसीसी बैंकलाई देशकै ‘टप फाइभ’ बैंक बनाउने उद्घोष गरेका छन् । ‘यसैगरी सबै क्षेत्रबाट सहयोग भए हामी केही वर्षमै देशकै टप फाइभ वाणिज्य बैंकको रुपमा उभिन सफल हुनेछौ ।’ उनले भने–‘हामीले आगामी दिनमा सेयरधनीलाई समेत उच्चतम प्रतिफल दिने लक्ष्य लिएका छौ ।’ 

सीइओ अर्यालका अनुसार मर्जपछि बनेको एनसीसी बैंकको निक्षे ५४ अर्ब ३७ करोड, कर्जा प्रवाह ४८ अर्ब ६२ करोडको उचाईमा पुुगेको छ । बैंकमा आबद्ध ४ लाख ८६ हजार सेयरधनीले ९६ वटा शाखा सञ्जाल, ६१ वटा एटीएम काउण्टरबाट बैकिङ सेवा पाउने उनले बताए । पाँचवटै संस्था मर्ज भएपछि बनेको बैंकमा अब सेयरधनीको संख्या ८७ हजार पुुग्ने बताइएको छ । 

एकीकृत बित्तीय कारोबार शुभारम्भको अवसरमा बोल्दै तत्कालीन एपेक्स डेभलपमेन्ट बैंकका अध्यक्ष विष्णु धितालले धेरै ठूलो संघर्ष र अथक प्रयासपछि एनसीसीको मर्जरले सफलता प्राप्त गरेको बताए । एनसीसी बैंकको तदर्थ संचालक समितिका सदस्य तथा सांसद मोहनबहादुर बस्नेतले अबको ५ वर्षभित्रमा यो बैंकलाई देशकै टप फाइभ बैंक बनाउने उद्घोष गरे । 

सो क्रममा नेपाल राष्ट्रबैंकको तर्फबाट व्यवस्थापन सम्हाल्न एनसीसीमा प्रवेश गरेका टिमका लिडर लक्ष्मीप्रपन्न निरौलाले मर्जपछि कर्जा जोखिम तथा कर्मचारी व्यवस्थापन खर्चले नकारात्मक असर पर्नसक्नेतर्फ सचेत गराउँदै बैंक व्यवस्थापनलाई चनाखो रहन आग्रह गरे । उनले आफूहरुलाई सबै पक्षको सहयोग र सद्भाव रहेकै कारण ऐतिहासिक मर्जर सफल बनेको बताए ।

कार्यक्रममा बोल्दै संयुक्त मर्जर कमिटीका संयोजक तथा नेपाल राष्टबैंकका कामु निर्देशक ईश्वरीप्रसाद न्यौपानेले प्रारम्भमा कुमारी बैंक पनि मर्जरका लागि तयार भए पनि उसको विशेष साधारणसभाले मर्जरमा जान नमानेकोले ५ वटा बैंकबीच मात्र मर्जर प्रक्रिया अगाडि बढेको र अनेक जटिल समस्या सामना गर्दै मर्जर सम्पन्न भएको बताएका थिए ।