काठमाण्डौ । नेपाल टेलिकमका सेयरधनीहरु मालामाल हुने भएका छन् । टेलिकमको संचालक समितिले आफ्ना सेयरधनीलाई ५१ प्रतिशत नगद लाभांश वितरणको प्रस्ताव आगामी फागुन ३० गतेको वार्षिक साधारणसभामा लैजाने भएको छ ।

प्रस्ताव अनुसार सबैभन्दा धेरै चुक्तापूँजी भएको यो कम्पनीले ७ अर्ब ६५ करोड नगद लाभांशको रुपमा आफ्ना सेयरधनीलाई वितरण गर्नेछ । 

साधारणसभामा पारित यो प्रस्ताव पारित भएपछि सेयरधनीले ५१ प्रतिशतको दरले नगद लाभांश प्राप्त गर्ने बताइएको छ । 

साधारणसभाकै लागि टेलिकमले फागुन १५ देखि ३० गतेसम्मका लागि बुक क्लोजको मिति तोकेको छ । फागुन १२ गतेसम्म टेलिकमको सेयर खरीद गरेका वा आफ्नो नाममा नामसारी गरेका सेयरधनीले घोषित नगद लाभांश पाउने छन् । 

कम्पनीले आर्थिक वर्ष २०७२/७३ मा ११ अर्ब ५२ करोड खूद नाफा आर्जन गरेको थियो । सोही नाफाबाट लगानीकर्ताले ५१ प्रतिशत नगद लाभांश वितरण हुन लागेको हो । 

नेपाल टेलिकममा ९१.४९ प्रतिशत लगानी सरकारको छ । यो कम्पनीमा सर्वसाधारणको ४.४४ प्रतिशत, कर्मचारीको ४.०४ र नागरिक लगानी कोषले ०.०३ प्रतिशत लगानी रहेको छ । यसको अर्थ, घोषित नगद लाभांशमध्ये करिब ७ अर्ब रुपैयाँ सरकारी ढिकुटीमा जम्मा हुनेछ । सर्वसाधारण सेयरधनीको भागमा ६५ करोड बढी नगद विनियोजित हुनेछ । 

कम्पनीले चालुु आर्थिक वर्षको दोश्रो त्रैमाससम्म ७ अर्ब ९१ करोड खूद नाफा आर्जन गरेको छ । कम्पनीको चुक्तापूँजी १५ अर्ब रुपैयाँ छ ।