काठमाण्डौ । कुनै बेला विश्वकै सर्वाधिक चर्चित र अगाडि रहेको  मोवाइल कम्पनी जियोनीले भारतबाट आफ्नो हात झिकिरहेको छ । इकोनोमिक्स टाइम्समा छापिएको एक खबरका अनुसार जियोनीको भारतीय इकाईका माइनरिटी सेयरहोल्डर अरविन्द आर बोहरा तथा भारतीय फोन कम्पनी कार्बनले उसको हिस्सेदारी खरीद गर्न खोजिरहेका छन् । यसअघि कार्बन मोवाइलको होल्डिङ युनिट जेना  ग्रुपका एमडी तथा प्रमोटर प्रदीप जैन तथा बोहराले एलओआई तथा नन्डिस्क्लोजर एग्रीमेन्टमा जियोनीको मातृ कम्पनी  जियोनी कम्युनिकेसन इक्वीपमेन्टसँग हङकङमा हस्ताक्षर गरेका थिए । 

रकम अभावको समस्या
जियोनी भारतमा सबैभन्दा पहिला प्रवेश गर्ने चिनियाँ मोवाइल कम्पनी हो । यो कम्पनी सन् २०१२ मा नै भारतमा प्रवेश गरेको थियो  । तर, चाइनिज प्यारेन्ट कम्पनीलाई रकम अभाव भएकै कारण भारतमा उसले खोलेको इकाईले राम्रोसँगले प्रतिफल दिन सकेन । निक्केईको एशियन रिभ्यूमा प्रकाशित एक रिपोर्टअनुसार चीनको एक अदालतले जियोनीमा सो कम्पनीको चेयरम्यान तथा सीइओ लियू लिरोङको ४१.४ प्रतिशत सेयरलाई २ वर्षका लागि फ्रिज गर्ने आदेश सुनाएको थियो । यही आदेशपछि नै कम्पनीले मुश्किलहरुको सामना गर्नु परिरहेको मिडिया रिपोर्टमा बताइएको छ । 

जूवाको लतबाट बर्बादी
यी सबैको मुख्य कारण जियोनीका चेयरम्यान तथा सीइओ लियू लिरोङको जूवाको लत रहेको बताइन्छ । यही बानीले कम्पनीलाई बर्बाद पारेको बताइन्छ । चीनका केही स्थानीय मिडियाहरुमा बताइएअनुसार जूवाकै लतका कारण लियू निकै धेरै ऋणमा परेका थिए । यहीकारण कम्पनीको बित्तीय अवस्था समेत खराब भयो । यसले चीनमा मात्र होइन, भारत लगायत विश्वका विभिन्न मुलुकमा उसले स्थापना  गरेका इकाई तथा युनिटहरुमा समेत नकारात्मक प्रभाव पर्यो ।

जियोनीले भारतमा आफ्नो कारोबारको सुरुवात विराट कोहली, आलिया भट्ट लगायतलाई ब्राण्ड एम्बेस्डर बनाई आक्रामक प्रचार रणनीतिका साथ गरेको थियो । सेल्फी फोटोग्राफीको खास विशेषतासहितको मोवाइलले राम्रै स्थान समेत जमाएको थियो । तर, अहिले प्रचार रणनीति तथा आक्रामक बजार रणनीति समेत सेलाएको छ । यसको मुख्य कारण कम्पनीको नाजुक आर्थिक अवस्थालाई लिइएको छ ।