काठमाडौँ । काठमाडौँबाट मलेशियाका लागि उड्न लागेको मालिन्दो एयरको जहाज गएराति त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ठूलो दुर्घटनाबाट जोगिएको छ । 
 
राति पौने १० बजे मलेशियातर्फ उड्न लाग्दा धावनमार्गबाट जहाज चिप्लिएर करीब १३९ फिट पर पुगेर घाँसे मैदानमा भासिएको थियो । जहाजमा १३९ यात्रु रहेको विमानस्थल स्रोतले जनाएको छ । 
 
जहाजले धानवमार्ग छोडे पनि यात्रु तथा चालक दलका सबै सदस्य सकुशल रहेको नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक सञ्जीव गौतमले जानकारी दिनुभयो । 
 
उक्त घटनापछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्नुपर्ने जहाज अन्यत्रै पठाइएको थियो भने काठमाडौँबाट उड्नुपर्ने सातवटा उडान पनि प्रभावित भएको थियो । 
 
अहिले विमानस्थलमा आन्तरिक तर्फका उडान शूरु भए पनि अन्तराष्ट्रिय तर्फका उडान हुन भने केही समय लाग्ने जानकारी दिइएको छ ।