काठमाण्डौ । विश्वमै आपुर्ति भन्दा माग धेरै भएको विषयको रुपमा कहलिएको एक्चुअरियल साईन्स विषयको पठन/पाठन नेपालमा हुँदै आएको छ । 
भविष्यमा आउने जोखिम व्यवस्थापन गर्ने वा रणनीति बनाउने विशेषज्ञ नै एक्चुरी हो । 

वित्तीय क्षेत्रमा जीवन विमा, निर्जिवन विमा, बैङ्कका साथै लगानी व्यवस्थापन गर्ने निकायमा यसको प्रयोग हुन्छ । नेपालमा हाल २० ओटा जीवन विमा, १९ ओटा निर्जिवन र एक ओटा रिइन्स्योरेन्स गरी जम्मा ४० वटा कम्पनी संचालनमा छन् । 

कुल १३ विषयमध्ये  ३-४ पेपर पास गरेमा विद्यार्थीले विश्व बजारमै सजिलैसँग काम पाउँछन् । नेपालमा दक्ष जनशक्ति नहुँदा अहिलेसम्म नेपाली बिमा कम्पनीहरुले एक्चुरी रिपोर्टका लागि विदेशीको मुख ताक्नुपर्ने बाध्यात्मक परिस्थिति छ । यसरी विदेशिको भर पर्दा एकातिर समयमा एक्चुरी रिपोर्ट तयार गर्न नसकि विमा कम्पनीहरुले वार्षिक साधारण सभा लगायत अन्य क्रियाकलाप समयमा गर्न नसक्दा संस्थाको शुसाशनमै प्रश्न उठिरहेको र अर्कोतिर करोडौ रुपैयाँ बाहिरीएकोमा नेपालमै दक्ष जनशक्ति उत्पादन भई सो कुराको समाधान हुनसक्ने विश्वास गणित विज्ञान स्कूलले व्यक्त गरेको छ ।  

विमा ऐन २०४९ को परिच्छेद–४ को दफा २६ मा जीवन विमा व्यवसाय गर्ने विमकले प्रत्येक तीन वर्षमा एकपटक आफ्नो आर्थिक स्थितिको लेखाजोखा र दायित्वको मुल्याङ्कन विमाङ्कीद्वारा गराउनु पर्नेछ भन्ने कुरा उल्लेख छ । 

सोही ऐनको दफा ११ क मा दफा २६ बमोजिम विमाङ्कीको प्रतिवेदन पेश नगरेमा वीमकको दर्ताको प्रमाणपत्र नविकरण नगर्ने कुरा समेत उल्लेख गरेको छ । 

विमा नियमावली २०४९ अनुसार विमाङ्कीको योग्यताको सम्बन्धमा समितिवाट मान्यता प्राप्त इन्स्टिच्युट अफ् एक्चुअरीवाट फेलोसिप उपाधि हासिल गरेको व्यक्तिले यस नियमावलि वमोजीम विमाङ्कीको काम गर्न सक्नेछ भन्ने कुरा उल्लेख गरेकोछ । 

प्लस टू वा १२ कक्षा उत्तिर्ण गरिसकेपछि के पढ्ने भनेर अलमलिएका विद्यार्थीहरुका लागि यो कोर्ष कोशेढुङ्गा सावित हुने दाबी गरिएको छ।

यो विषय पढ्नको लागि जुनसुकै संकायबाट कक्षा ११/१२ वा सो सरहको परीक्षामा १०० पूर्णाङ्कको म्याथम्याटिक्स वा विजिनेश म्याथम्याटिक्स विषय लिएर कम्पतीमा दोश्रो श्रेणी वा ग्रेडिङ सिस्टममा सीजीपीए दुई वा सोभन्दा बढी ल्याएको हुनुपर्नेछ । 

यो योग्यता पुगेका विद्यार्थीहरुले भदौ ११ गते सम्म गणित विज्ञान स्कूल बल्खुमा गई फारम भरेर स्कूलवाट संचालन गरिने प्रवेश परीक्षामा सामेल भई मेरिट लिस्टका आधारमा छत्तिस जनाले भर्ना पाउने बताइएको छ । 

त्रि.वि. नियमानुसार कुल कोटाको १० प्रतिशत छात्रवृत्ति वितरण गर्ने स्कूलको नीति अनुरुप शुरुमा प्रवेश परीक्षामा उच्चतम अंक ल्याउने एकजना विद्यार्थीलाई एक सेमेष्टर र वाँकी रहेका सिटमा सरकारी वा सामुदायिक स्कूलबाट अध्ययन गरेको विद्यार्थीहरुलाई सो सेमेष्टर वाहेक अन्य सेमेष्टरमा त्रि.वि. विज्ञान तथा प्रविधि अध्ययन संस्थान डिनको कार्यालयले लिएको जाँचको नतिजाको आधारमा छात्रवृत्ति वितरण गर्ने प्रावधान रहेको छ । 

चार वर्षे स्नातक तहको सेमेष्टर प्रणली अनुरुप पठन÷पाठन हुने यो विषय पढ्न जम्मा चार लाख चालिस हजार खर्च लाग्छ । 

शुरुको दुई वर्ष गणित, तथ्याङ्कशास्त्र र कम्प्युटर विज्ञानको अध्यापन गराइन्छ भने वाकि रहेको दुई वर्ष कोर कोर्षको अध्यापन गराइन्छ । 

उक्त कोर्षको पाठ्यक्रम अनुसार ६० प्रतिशत वाह्य र ४० प्रतिशत आन्तरिक मूल्याङ्कन हुन्छ । ४० प्रतिशत आन्तरीक मुल्याङ्कनमा प्रथम र द्वितिय गरी दुई वटा एसिस्मेन्ट, प्रस्तुतिकरण, गृहकार्यमा अङ्क वाँडफाड गरेकोछ भने ८० प्रतिशत भन्दा कम हाजिर हुने विद्यार्थीहरुलाई फाइनल परीक्षामा सामेल नगराइने नियम छ ।

सेमेष्टरको शुरुमै विद्यार्थीहरु लगाएत सरोकारवाला सवैलाई एकाडमिक क्यालेन्डर वितरण गरी सेमेष्टर भरी जे जति क्रियाकलाप गरीन्छ सोही अनुसार गराइन्छ । अहिलेसम्म छ ओटा सेमेष्टर पुरा भएकोमा एक दिन पनि क्यालेन्डर भन्दा यता उति नभएको स्कूलका निर्देशक प्रा.डा. प्रकाश मुनि बज्राचार्यले वताउनु भयो । पढाईको अलवा समसामयिक विषयवस्तुको जानकारी, एकाडेमिक इन्डस्ट्रि डाईलग, इन्डस्ट्रिका रिनाउन्ड व्यक्तित्वहरुसँग विद्यार्थीहरुको अन्तरक्रिया समेत गराउने गरीन्छ । 

यो कोर्ष सँगै विद्यार्थीहरुले प्रोफेसनल परीक्षाको जाँच दिन्छन् । सर्टिफाई एक्चुअरी वन्न प्रोफेशनल कोर्षको १३ विषयको जाँच दिनुपर्छ । गत वर्ष IFOAद्वारा संचालित प्रोफेशनल कोर्षको जाँच दुईजना विद्यार्थीहरुले दिएकोमा ऋचा ढकालको ८८ प्रतिशत र सन्तोष लामिछानेको ७८ प्रतिशत प्राप्ताङ्क प्राप्त गरेका थिए । यस वर्ष गणित विज्ञान स्कूलका पहिलो व्याचका १४ जना र दोश्रो व्याचका ८ जना गरी कुल २२ जना विद्यार्थीहरुले प्रोफेशनल कोर्षको जाँच दिनको लागी फारम भरेका छन् ।