काठमाण्डौ । विश्वभर कोरोनाभाइरसको जोखिम बढेसँगै विज्ञहरुले अनिवार्य मास्क लगाउन सुझाव दिइरहेका छन्।

कोरोनाभाइरसबाट अतिप्रभावित ब्राजिलका राष्ट्रपति जेर बोलसोनारो भने कयौँ पटक बिना मास्क सार्वजनिक स्थानहरुमा उपस्थित भइरहेका छन्। अब भने उनी बिनामास्क सार्वजनिक स्थानमा हिँडडुल गर्न नपाउने भएका छन्। यदि मास्क नलगाई सार्वजनिक स्थानमा हिँडे उनले पनि जरिवाना तिर्नुपर्ने भएको छ।

ब्राजिलको एउटा अदालतले राष्ट्रपति बोलसोनारोलाई सार्वजनिक स्थानमा मास्क नलगाए जरिवाना तिराउने भन्दै चेतावनी दिएको हो। ब्राजिलको फेडेरल कोर्टका न्यायाधीस रेनेटो बोरेलीले राष्ट्रपतिलाई आफ्नो र्यालीहरुमा अनिवार्य रुपमा मास्क लगाउन आदेश दिएका छन् र यो निर्णयको उल्लंघन गरे प्रत्येकपटक २ हजार रियल जरिवाना तिराउने चेतावनी दिएका छन्। 

ब्राजिलमा विश्वकै दोस्रो सबैभन्दा धेरै कोरोना संक्रमित रहेका छन्। त्यस्तै कोरोनाबाट मृत्यु हुनेको सूचीमा समेत ब्राजिल अमेरिकापछि दोस्रो स्थानमा छ। ब्राजिलमा अहिलेसम्म कोरोनाबाट मृत्यु हुनेको संख्या ५० हजारभन्दा पुगिसकेको छ। संक्रमित हुनेको संख्या पनि १० लाख पार भइसकेको छ। 

देशमा कोरोना संक्रमणका घटनामा निरन्तर रुपमा वृद्धि भइरहेपनि ब्राजिलका राष्ट्रपति खुलमखुला बिना मास्क आफ्नो र्यालीहरुमा हिँडिरहेका छन्। कसैसँग भेटघाट गर्दासमेत उनी बिना मास्क नै प्रस्तुत भइरहेका छन्। 

यतिमात्रै नभई राज्यका गर्भनर र सहरका मेयरहरुले जारी गरेको लकडाउनको समेत उनले विरोध गरेका छन्। उनले कोरोनालाई केवल भ्याक्सिनले मात्रै रोक्न सकिने र अन्य कुनै उपायले काम नगर्ने बताएका थिए। – एजेन्सी