काठमाण्डौ । सरकारले मास्क प्रयोग नगर्ने ३ लाख ९५ हजार व्यक्तिलाई नियन्त्रणमा लिएर कारबाही गरेको छ।

सरकारले नेपालमा फैलँदै गएको कोभिड–१९ का कारण बन्दाबन्दी गरेपछि मास्कको प्रयोग नगर्ने देशभरका व्यक्तिलाई नियन्त्रणमा लिई सम्झाईबुझाई छोड्नाका साथै जरिवनासमेत गरेको हो। अनुमति विना काठमाण्डौ उपत्यका प्रवेश गर्न खोज्ने ७ हजार ६०० सवारीसाधन र करिब १९ हजार ४०० यात्रुलाई प्रवेश नाकाबाटै फिर्ता गरिएको गृह मन्त्रालयका प्रवक्ता, सहसचिव चक्रबहादुर बुढाले जानकारी दिए। 

यस्तै तोकिएको निर्देशनविपरीत हालसम्म सवारी चलाउने करिब १ लाख ३७ हजार दुईपाङ्ग्रे र चारपाङ्ग्रे सवारी साधनलाई होल्ड गर्नाका साथै जोरबिजोर प्रणाली नमान्ने ५ हजार ३०० सवारी साधनलाई कारबाही गरिएको मन्त्रालयले जनाएको छ। मन्त्रालयले कोभिड–१९ को बढ्दो सङ्क्रमण नियन्त्रणका लागि जारी निर्देशनको कडाइपूर्वक कारबाही गर्ने कार्य निरन्तर जारी रहेको जनाएको छ। 

सरकारले कोभिड–१९ नियन्त्रणका लागि स्वास्थ्य मन्त्रालयद्वारा जारी जनस्वास्थ्य मापदण्ड र गृह मन्त्रालयद्वारा जारी सुरक्षा मापदण्डको पूर्ण रुपमा पालना गर्न सबैलाई आग्रहसमेत गरेको छ।

गृह मन्त्रालयले यातायातमा जोरबिजोर प्रणालीको पालना गर्ने, अनिवार्यरुपमा माक्सको प्रयोग गर्नेलगायत निर्देशनलाई प्रभावकारी रुपमा कार्यान्वयन गराउन सबैलाई निर्देशनसमेत दिएको छ।

- RSS