काठमाडौँ । विगतमा राम्रो प्रगति गर्दै आएको मितेरी डेभलपमेन्ट बैंकको प्रगति अपेक्षित कम देखिएको छ ।  चालू आर्थिक वर्षको तेस्रो त्रैमासिक अवधिसम्म बैंकको नाफामा कमी ११ दशमलव ८८ प्रतिशले कमी आएको छ । बैंकले मंगलबार प्रकाशन गरेको तेस्रो त्रैमासिक अवधिसम्मको वित्तीय विवरण अनुसार ७ करोड २८ लाख ८८ हजार खुद नाफा आर्जन गरेको छ ।  यो गत वर्षको भन्दा ९८ लाख ३० हजार रुपैयाँले कम हो । गत वर्षको यसै अवधिमा बैंकले ८ करोड २७ लाख १८ हजार रुपैयाँ खुद आम्दानी गरेको थियो ।
 
समीक्षा अवधिमा बैंकको ब्याज आम्दानीका साथै सञ्चालन आम्दानीमा समेत कमी आएकाले नाफा कम हुन पुगेको छ । यस अवधिमा बैंकले १२ करोड ८६ लाख ४ हजार रुपैयाँ ब्याज आम्दानी गरेको छ । गत वर्षको यही अवधिसम्ममा बैंकले १४ करोड ३८ लाख ५३ हजार रुपैयाँ व्याज आम्दानी गरेको थियो ।
 
यसैगरी बैंकको सञ्चालन मुनाफामा समेत कमी आएको छ । समीक्षा अवधिमा बैंकले ११ करोड ४४ लाख ५३ हजार सञ्चालन आम्दानी गरेको छ । गत वर्ष बैंकले १२  करोड ९८  लाख  ७२ हजार रुपैयाँ सञ्चालन आम्दानी गरेको थियो । 
 
बैंकमा खराब कर्जा अनुपात भने क्रमश सुुधारोन्मुख देखिएको छ । बैंकमा कूल कर्जाको शून्य दशमलव शून्य ९ प्रतिशत रहेको खराब कर्जा  रहेको छ । जुन निकै सकारात्मक मानिन्छ । वार्षिकीकृत प्रतिशेयर आम्दानी १९ दशमलव ४४ रुपैयाँ कायम भएको छ । 
 
बैंकको चुक्ता पूँजी ५० करोड रुपैयाँ रहेको कम्पनीको जगेडा कोषमा १५  करोड ९४ लाख ४१ हजार रुपैयाँ रहेको छ । ३ अर्ब १७ करोड निक्षेप रेहेको बैंकले २ अर्ब ९३ करोड कर्जा प्रवाह गरेको वित्तीय विवरणले देखाएको छ । बैंकले आन्तरिक खर्च व्यवस्थापन गर्न नसकेका कारण खुद नाफा कम भएको देखिएको छ ।