काठमाण्डौ । मिथिला लघुवित्त वित्तीय संस्था लिमीटेडले आगामी चैत २३ गते वार्षिक साधारणसभा आह्वान गरेको छ । 

कम्पनीले धनुषाको बौवा होटलको हलमा बिहान ११ बजे आफ्नो १० औं वार्षिक साधारणसभा आह्वान गरेको हो । 

साधारणसभामा संचालक समितिबाट भएको १०.४५ प्रतिशत बोनस सेयर र ०.५४ प्रतिशत नगद लाभांश वितरणको निर्णय सम्बन्धी प्रस्ताव पेश हुनेछ ।

अधिकृत पूँजी बढाएर २० करोड पुर्याउने तथा पब्लिक सेयरधनीको तर्फबाट २ जना संचालकको निर्वाचन गर्ने कार्यक्रम समेत सभामा पेश हुनेछ ।

यस्तै, कम्पनीले हाल कायम संस्थापक सर्वसाधारण सेयरको ७०ः३० प्रतिशत रहेको अनुपात घटाएर ५१ः४९ प्रतिशतमा रुपान्तरण गर्ने प्रस्ताव समेत पेश गर्नेछ । 

संचालकहरुको भत्ता तथा सुविधा वृद्धिको प्रस्ताव समेत पेश हुने बताइएको छ । 

साधारणसभाले संचालक समितिलाई संभावित प्राप्ति वा एक्वीजिसनका लागि अधिकार प्रत्यायोजन गर्नेछ भने आर्थिक वर्ष २०७४/७५ को वित्तीय विवरण पारित गर्ने तथा चालु आर्थिक वर्षका लागि लेखापरीक्षकको नियुक्तिको निर्णय समेत गर्नेछ ।