काठमाण्डौ । मिर्मिरे माइक्रोफाइनान्स डेभलपमेन्ट बैंक लिमीटेडले आगामी असार २७ गतेदेखि १ बराबर १ को अनुपातमा हकप्रद सेयर निश्कासन गर्ने भएको छ । 

यो कम्पनीले निश्कासन गर्ने हकप्रदमा साउन २९ गतेभित्र आवेदन दिइसक्नुपर्नेछ । 

यो माइक्रोफाइनान्स कम्पनीले १०० रुपैयाँ अंकित दरका ४ लाख ५० हजार कित्ता हकप्रद सेयर निश्कासन गर्ने भएको हो ।

हकप्रदका लागि कम्पनीले जेठ १८ गतेलाई बुक क्लोजको मिति तोकेको थियो । यसको अर्थ जेठ १७ गतेसम्म कायम यो कम्पनीका सेयरधनीले हकप्रदका लागि आवेदन दिन पाउनेछन् । 

हकप्रदको निश्कासन तथा बिक्री प्रबन्धक एनआइबिएल एस क्यापिटल लिमीटेड रहेको छ । 

हालै यो कम्पनीले सेयरधनीलाई ३०.८० प्रतिशत बोनस सेयर वितरणको घोषणा गरिसकेको छ । बोनस  सेयर र सतप्रतिशत हकप्रदपछि कम्पनीको चुक्तापूँजी बढेर १० करोड ३८ लाखको उचाईमा पुग्नेछ । 

इक्रा नेपालले कम्पनीको हकप्रदलाई ग्रेड फोरको रेटिंग प्रदान गरेको छ । यसको अर्थ कम्पनीको अवस्था औसत आधार भन्दा कमजोर छ भन्ने हो । 
यो कम्पनीले चालु आर्थिक वर्षको तेश्रो त्रैमाससम्म ५.९९ करोड खूद नाफा आर्जन गरेको थियो । 

यसैबीच, समता माइक्रोफाइनान्सले समेत असार २७ गतेदेखि नै ५० प्रतिशतको दरले हकप्रद सेयर निश्कासन गर्दैछ । 

यो कम्पनीको हकप्रदका लागि समेत साउन २९ गतेभित्र आवेदन दिइसक्नुपर्नेछ । 

यो कम्पनीले हकप्रद प्रयोजनका लागि असार १२ गतेलाई बुक क्लोजको मिति तोकेको छ । यसको अर्थ असार ११ गतेसम्म कायम कम्पनीका सबै सेयरधनीले हकप्रदमा आवेदन दिन पाउनेछन् । 

हकप्रदको निश्कासन तथा बिक्री प्रबन्धकको काम एनआइबिएल एस क्यापिटल लिमीटेडले गर्नेछ । 

हकप्रदपछि कम्पनीको चुक्तापूँजी ४ करोड ७४ लाखको उचाईमा पुग्नेछ । 

समता माइक्रोफाइनान्सले चालु आर्थिक वर्षको तेश्रो त्रैमाससम्म ५६ लाख ७२ हजार खूद नाफा आर्जन गरेको छ ।