काठमाण्डौ । मिर्मिरे लघुवित्त वित्तीय संस्था लिमिटेडले आर्थिक वर्ष २०७५/७६ को मुनाफाबाट आफ्ना सेयरधनीहरुलाई ४७.३६ प्रतिशत लाभांश वितरणको घोषणा गरेको छ ।

संस्थाको हिजो शनिबार बसेको सञ्चालक समितिको बैठकले उक्त लाभांश वितरणको घोषणा गरेको हो । संस्थाले चुक्तापुँजी १२ करोड ८७ लाख ८६ हजार ४०० रुपैयाँको ४५ प्रतिशत अर्थात ५ करोड ७९ लाख ५३ हजार ८८० रुपैयाँबराबरको बोनस सेयर वितरणको प्रस्ताव गरेको छ । त्यस्तै बोनस सेयरको कर प्रयोजनका लागि संस्थाले २.३६ प्रतिशत अर्थात ३० लाख ५० हजार २०४ रुपैयाँ नगद लाभांशका रुपमा वितरण गर्ने प्रस्ताव पनि गरेको छ ।

संस्थाले नेपाल राष्ट्र बैंकबाट स्वीकृति प्राप्त गरेपछि आगामी साधारणसभाबाट लाभांश वितरण प्रस्ताव पारित गरी आफ्नो सेयरधनीहरुलाई वितरण गर्ने जानकारी गराएको छ ।

संस्थाले आर्थिक वर्ष २०७५/७६ मा अघिल्लो वर्षको तुलनामा खुद नाफा १०६.६९ प्रतिशतले वृद्धि गर्न सफल भएको थियो ।

हालै सार्वजनिक चौथो त्रैमास वितरणअनुसार संस्थाले आर्थिक वर्ष २०७५/७६ मा ६ करोड १४ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । अघिल्लो वर्षको सोही अवधिमा संस्थाले २ करोड ९७ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो ।