काठमाण्डौ । पाँच तारे होटल एभरेस्टलाई मिलेमतोमा रातो स्टिकर दिइएको तथ्य फेला परेको छ। व्यवस्थापनले होटल सञ्चालन गर्न सक्ने अवस्था नभएपछि सरकारी निकायसँग मिलेमतो गरी रातो स्टिकर टाँस्न लगाएको हो। 

होटल व्यवस्थापनले पर्यटन विभागका इन्जिनियरलाई आर्थिक प्रलोभनमा पारेर होटल बन्द गर्नुपर्ने गरी रातो स्टिकर दिन लगाएको होटलमा लामो समयदेखि काम गर्दै आएका पुराना एक कर्मचारी बताउँछन्। सन २०१५ अप्रिल २५ को भूकम्पपछि पहिलो पटकको सरकारी अनुगमन टोलीले होटलमा हरियो स्टिकर (सञ्चालन गर्न मिल्ने) टासेको थियो। वैशाख २९ गतेको परकम्पपछि पुनः भएको अनुगमनमा भने सरकारी निकायले होटल सञ्चालन गर्न नमिल्ने भन्दै रातो स्टिकर टाँसेको थियो।

होटल व्यवस्थापनले पारिवारिक विवाद चर्कंन थालेपछि सरकारी कर्मचारीलाई आर्थिक प्रलोभनमा पार्दै रातो स्टिकर लगाउन लगाएको स्रोत बताउँछ। सरकारी निकायले पहिलो पटक दिइएको हरियो स्टिकरमा सरकारी लोगो भए पनि दोस्रो पटक दिएको रातो स्टिकरमा सरकारी लोगो छैन।

होटल व्यवस्थापनले आन्तरिक समस्या समाधन र कर्मचारी आन्दोलनको समस्या समाधनका लागि भन्दै रातो स्टिकर माग गरेर रातो स्टिकर लिएको स्रोतको दाबी छ। ३५ रोपनी जग्गामा रहेको होटलको पुरानो बिल्डिङमा रातो स्टिकर लगाएपछि पूरै क्षति भएको भन्दै होटल व्यवस्थापनले बिमा कम्पनी (ओरियन्टल इन्स्योरेन्स) सँग पौने ४० करोड रुपैयाँ बिमा दाबी गरेको थियो।

काका मकबुल लारी र भतिज मुस्कुद लारीबीच सेयर बाँडफाँटमा समस्या बढ्दै थियो। काकाको मृत्युपछि भतिज मस्कुदले मकबुलका छोरा मुजाफरलाई होटलको सेयर आफ्नो नाममा सारको भन्दै सेयर दिन मानेनन्। भाइ मुजाफरले बुबाको सेयरमा आफ्नो हक रहने भन्दै कानुनी रूपमा अगाडि बढे। दाजु भाइको मुद्दा अहिले सवोच्चमा चलिरहेको छ। होटल सञ्चालन गर्न भन्दै पछिल्लो समय भने व्यवस्थापन उद्योग विभागमा पुगिरहेका छन्।

मस्कुदले भाइ मुजाफरलाई तिम्रो बुबा मकबुलसँग ५० लाख आईसीमा होटल किनेको भन्दै नक्कली कागज बनाउँदै सेयर आफ्नो नाममा सारेको स्रोत बताउँछ। तर, पर्यटन विभागका इन्जिनियर अर्थात् रातो स्टिकर दिने पोषनाथ अधिकारीले कसैको आर्थिक प्रलोभनमा परेर रातो स्टिकर नदिएको दाबी गर्छन्।

होटल अनुगमनमा जाँदा व्यवस्थापनले पाँचवटा मुख्य पिलरमा कागज बेरेको थियो। व्यवस्थापनले भूकम्पले पिलरको मार्वल उप्किएकाले छोपेको जानकारी दिएको अधिकारीले बताए। तर, अनुगमनका क्रममा पिलरको अवस्था नै खराब भएपछि रातो स्टिकर टाँसिएको उनको दाबी छ। पाँचवटा पिलरको अवस्था खतरापूर्ण भए पनि पूरै होटल ड्यामेज नभएको उनले बताए।

यसका लागि इन्जिनियर ल्याएर सर्वे गर्न आफूहरूले सुझाव दिएको अधिकारीको तर्क छ। समस्या देखिएको पिलर ‘रेक्ट्रो फिट’ गर्नसपर्ने वा पुर्ननिर्माण गर्नुपर्ने भन्ने विषयमा अध्ययन गर्न सुझाव दिइएको थियो। तर, त्यस विपरित व्यवस्थापनले होटल नै बन्द गरेको छ। बिमा कम्पनीको अध्ययन प्रतिवेदनमा पिलरको प्लास्टर मात्रै गएको उल्लेख छ। होटल व्यवस्थापनले भने आन्तरिक समस्या समाधान र बिमाबाट रकम लिएर नयाँ भवन बनाउने मनासयमा होटल बन्द गरेको स्रोत बताउँछ।

होटलका मालिक अहिले पनि नेपालमा फरार सूचीमा छन्। यो खबर आजको अन्नपूर्णमा छापिएको छ ।