काठमाण्डौ । मुक्तिनाथ विकास बैंकले १९.२१ प्रतिशत लाभांश वितरणको प्रस्ताव पारित गरेको छ । 

बैंकको मंसिर २९ गते सम्पन्न १२ औं वार्षिक साधारणसभाले आर्थिक वर्ष २०७४/७५ को नाफाबाट सेयरधनीलाई १८.२५ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.९६ प्रतिशत नगद लाभांश वितरणको प्रस्ताव पारित गरेको हो। 

साधारणसभाले बोनस सेयर वितरणपछि कायम हुने चुक्तापूँजीको २० प्रतिशत हकप्रद सेयर निश्कासनको प्रस्ताव समेत पारित गरेको छ । 

बैंकका सञ्चालक समितिका अध्यक्ष खिमप्रकाश मल्लको अध्यक्षतामा सम्पन्न कार्यक्रममा बैंकका सञ्चालक समितिका सदस्य नारायणप्रसाद पौडेलले स्वागत मन्तब्य राखेका थिए । 

बैंकका प्रमुख कार्यकारी अधिकृत प्रद्युमन पोखरेलले बैंकको विगत तथा वर्तमान अवस्था र बैंकको भावी रणनीतिको बारेमा साधारणसभामा जानकारी गराएका थिए भने कम्पनी सचिव डण्डपानी ढकालले कर्यक्रम सञ्चालन गरेका थिए । 

साधारणसभाले अध्यक्षले सञ्चालक समितिको तर्फबाट आ.व. २०७४/०७५ को वार्षिक प्रतिवेदन पारित गरेको थियो । 

साधारणसभामा सेयरधनीहरुबाट आएका जिज्ञासाहरुको सम्बन्धमा अध्यक्ष र प्रमुख कार्यकारी अधिकृतले प्रस्ट पारेका थिए भने बैंकका निवर्तमान अध्यक्ष मिनप्रसाद गुरुङ्ग र निवर्तमान प्रमुखकार्यकारी अधिकृत भरतराज ढकालले कार्यक्रमको सफलताको शुभकामना दिएका थिए ।