काठमाण्डौ । चालु आर्थिक वर्षको तेश्रो त्रैमासमा मुक्तिनाथ विकास बैंकले ६० करोड २० लाख खूद नाफा आर्जन गरेको छ। यो भनेको अघिल्लो वर्षको तेश्रो त्रैमासको तुलनामा करिब ४१ प्रतिशतले बढी हो । 

बैंकले संचालन मुनाफामा समेत अघिल्लो वर्षको तुलनामा ४१.७९ प्रतिशतले फड्को हान्दै  ९३ करोड २४ लाखको उचाई चुमाएको छ । 

समीक्षा अवधिमा व्यापार बिस्तारमा यो बैंकले आक्रामक नीति लिएका कारण खूद ब्याज आम्दानीमा ४६.२६ प्रतिशतले छलाङ हानी १ अर्ब २९ करोड पुगेको छ। 

यो अवधिमा ४१ अर्ब ८० करोड बढी निक्षेप संकलन गरेको बैंकले ३६ अर्ब ४५ करोड बढी कर्जा परिचालन गरेको छ । अघिल्लो वर्षको यही अवधिको तुलनामा ७०.३१ प्रतिशतले निक्षेप बढाएको बैंकले कर्जा बिस्तार भने ६५.७४ प्रतिशतले बढाएको छ । निक्षेप संकलनमा छलाङ मारेको बैंकको निक्षेप र कर्जातर्फको प्रगति निकै सन्तुलित देखिएको हो ।

अघिल्लो वर्षको यही अवधिमा ८० करोड ४६ लाखमा सीमित रिजर्बको आकार बढाई १ अर्ब ५ करोड पुर्याएको बैंकले चुक्तापूँजी १८.२५ प्रतिशतले बढेर ३ अर्ब ६ करोड माथि पुग्दा समेत वार्षिकीकृत प्रतिसेयर आम्दानी भने २२ रुपैयाँबाट बढाएर २६.१९ रुपैयाँ कायम गरेको छ । 

समीक्षा अवधिमा बैंकको प्रतिसेयर नेटवर्थ १३४.३३ रुपैयाँ र मूल्य आम्दानी अनुपात १३.६७ गुणा कायम भएको छ । 

अघिल्लो वर्ष ०.०१ प्रतिशतमा सीमित खराब कर्जा बढेर ०.०३ प्रतिशत पुगेको छ भने आधार दर केही घटी ११.२९ प्रतिशत तथा कस्ट अफ फण्ड ८.७४ प्रतिशत कायम भएको छ ।