काठमाण्डौ । मर्जर प्रक्रिया र लाभांश पारित मुख्य अजेन्डासहित मुक्तिनाथ विकास बैंकले आफ्नो तेह्रौँ वार्षिक साधारणसभाको मिति र स्थान तय गरेको छ।

बैंकको सञ्चालक समितिको हिजो आइतबार बसेको बैठकले वार्षिक साधारणसभाको मिति र स्थान तय गरेको छ । बैठकले बैंकको वार्षिक साधारणसभा मंसिर ३० गते पोखरामा गर्ने निर्णय गरेको छ ।

सभामा गत वर्षको मुनाफाबाट आफ्नो सेयरधनीहरुलाई वितरण गर्ने भनी प्रस्ताव गरिएको कुल १८.५३ प्रतिशत लाभांश पारित हुनेछ । प्रस्तावित लाभांशमा चुक्तापुँजी ३ अर्ब ६ करोड ४७ लाख ६० हजार १२३ रुपैयाँको १७.६० प्रतिशतले हुन आउने ६४ करोड ७२ लाख ७७ हजार ३३८ रुपैयाँबराबरको बोनस सेयर र ०.९३ प्रतिशतले हुन आउने ३ करोड ४० लाख ६७ हजार २२८ रुपैयाँबराबरको नगद लाभांश (लाभांश प्रयोजनका लागि) रहेको छ ।

सभाले चुक्तापुँजीको २० प्रतिशतले हुन आउने हकप्रद सेयर जारी गर्ने प्रस्ताव पनि पारित गर्नेछ । बोनस सेयर र २० प्रतिशत हकप्रद सेयर जारीपछि बैंकको चुक्तापुँजी ४ अर्ब ३२ करोड ४९ लाख ८९ हजार ४८६ रुपैयाँ पुर्याउने प्रस्ताव पनि सभाले पारित गर्नेछ ।

सभाले विशेष प्रस्तावमा राखिने अन्य उपयुक्त बैंक तथा वित्तीय संस्थाहरुसँग एकआपसमा प्राप्ति वा समाहित तथा गाभ्ने वा गाभिने प्रयोजनका लागि बैंक तथा वित्तीय संस्थाको पहिचान गर्ने, सहमतिपत्रमा हस्ताक्षर गर्ने, सोका आधारमा सैद्धान्तिक स्वीकृतिका लागि नेपाल राष्ट्र बैंकमा निवेदन दिने, सम्पत्ति दायित्वको मूल्यांकन गर्न परामर्शदाता, मूल्यांकनकर्ता, लेखापरीक्षक नियुक्त गर्नेलगायतका आवश्यक कार्यका लागि सञ्चालक समितिलाई अख्तियार दिने अजेन्डामा पनि पारित गर्नेछ ।

त्यस्तै सभाले सञ्चालक समितिका वार्षिक प्रतिवेदन, आर्थिक प्रतिवेदनलगायताका महत्वपूर्ण दस्तावेज पनि छलफल गरी पारित गर्नेछ ।

यसैबीच बैंकले लाभांश र वार्षिक साधारणसभा प्रयोजनका लागि मंसिर २३ गतेदेखि मंसिर ३० गतेसम्म बुक क्लोज गर्ने निर्णय गरेको छ । यसको अर्थ मंसिर २२ गतेभित्र कायम सेयरधनीहरुमात्र लाभांशको भागिदार र साधारणसभामा भाग लिन पाउनेछन् ।