काठमाण्डौ । चालु आर्थिक वर्षको दोश्रो त्रैमासको वित्तीय विवरण प्रकाशित गरेका निजी क्षेत्रका १५ वटा बैंकमध्ये अधिकांश वित्तीय सूचकमा एनआइसी एशियाले चमात्कारिक प्रगति गरेको देखिएको छ।

मुख्य वित्तीय सूचकतर्फको प्रगतिमा एनआइसी एशिया अरुभन्दा अगाडि छ भने अधिकांश सूचकमा टप ५ भित्र पर्न सफल देखिएको छ। 

हामीले १५ वटा बैंकमध्ये मुख्य वित्तीय सूचकमा टप ५ मा परेका बैंकहरुको सूचि तयार गरेका छौ । मुख्य सूचकमा दोश्रो त्रैमाससम्मको अवस्थामा टप ५ सूचि र ती सूचकमा प्रगतिको हिसाबले टप ५ बैंकको सूचि तयार गरिएको हो । 

कुन सूचकमा कसले कस्तो प्रगति गर्यो, हेरौं बुँदागत रुपमा:

वितरणयोग्य मुनाफा


वितरणयोग्य मुनाफातर्फ अघिल्लो आर्थिक वर्षको यही अवधिको तुलनामा समीक्षा अवधिमा एनआइसी एशियाले १७३.३२ प्रतिशतको छलाङ मारी पहिलो स्थान कायम गरेको छ । फ्री प्रफिटको प्रगतिमा नम्बर वानमा रहेको एनआइसी एशिया यस्तो नाफाको आकारको हिसाबले तेश्रो नम्बरमा छ । नवील बैंक २ अर्ब ४ करोडसहित पहिलो, इन्भेष्टमेन्ट बैंक १ अर्ब ७२ करोडसहित दोश्रो र एनआइसी एशिया १ अर्ब २६ करोडसहित तेश्रो स्थानमा छन् । 

अघिल्लो आबको यही अवधिको तुलनामा फ्री प्रफिटमा प्रगतिको हिसाबले एनआइसी एशिया पछाडि लक्ष्मी बैंक, माछापुच्छे, प्रभू र कुमारी बैंक आएका छन् । 

खूद र संचालन नाफा


खूद नाफा र संचालन मुनाफातर्फको बढोत्तरीमा पनि एनआइसी एशिया सबैभन्दा अगाडि छ । अघिल्लो आबको दोश्रो त्रैमासको तुलनामा यो आ.ब.मा बैंकले खूद नाफा १६४.३४ प्रतिशतले तथा संचालन मुनाफा १७२.४४ प्रतिशतले बढाएको छ । 

दोश्रो त्रैमाससम्म सबैभन्दा बढी खूद नाफा कमाउने बैंकको सूचिमा एनआइसी एशिया तेश्रो छ । संचालन मुनाफामा पनि यो बैंक तेश्रो स्थानमा उक्लिएको छ । 

खूद मुनाफा र संचालन मुनाफामा नवील र इन्भेष्टमेन्ट बैंक मात्र एनआइसी एशिया भन्दा अगाडि छन् । 

सबैभन्दा बढी ब्याज आम्दानी गरे पनि ब्याज खर्च बढी भएका कारण एनआइसी एशिया खूद र संचालन मुनाफामा नवील र इन्भेष्टमेन्ट बैंकभन्दा पछाडि परेको हो । 

ब्याज आम्दानी र इपीएस


एनआइसी एशियाले चालु आर्थिक वर्षको दोश्रो त्रैमासमा सबैभन्दा धेरै ९ अर्ब ६५ करोड ब्याज आम्दानी गरेको छ । इन्भेष्टमेन्ट बैंकले ७ अर्ब ६० करोड र नवील बैंकले ७ अर्ब ३० करोड मात्र ब्याज आम्दानी गरेका छन् । 

तर, महंगोमा निक्षेप उठाउने बाध्यताले एनआइसी एशियाको लागत समेत उच्च देखिएको छ । उसको ब्याज खर्च ६ अर्ब ४ करोड रहेको हो । 

उच्च ब्याज खर्चकै कारण खूद ब्याज आम्दानीमा एनआइसी एशिया दोश्रो नम्बरमा छ । पहिलो नम्बरमा नवील बैंक छ ।

यसैगरी, वार्षिकीकृत प्रतिसेयर आम्दानीतर्फको बढोत्तरीमा एनआइसी एशिया सबैभन्दा अगाडि छ । उसको प्रगति १४०.३१ प्रतिशतको छ । अघिल्लो वर्ष यही अवधिमा १४.२४ रुपैयाँमा सीमित इपीएसलाई बढाएर एनआइसी एशियाले ३४.२२ रुपैयाँको उचाई चुमाएको छ ।

सबैभन्दा बढी इपीएस भएका वाणिज्य बैंकको टप फाइभको सूचिमा एनआइसी एशिया तेश्रो स्थानमा उक्लिएको छ । इपीएसतर्फको बढोत्तरीमा नम्बर वान हुनु र समग्रतामा तेश्रो स्थानमा उक्लिनु एनआइसी एशियाको सुखद पक्ष हो ।

इपीएसमा एनआइसी एशियाभन्दा अगाडि नवील र एभरेष्ट बैंक छन् । इन्भेष्टमेन्ट बैंक र हिमालयन बैंक पछाडि परेका छन् ।

रिजर्ब र खराब कर्जा

रिजर्बमा प्रगतिको हिसाबले पनि एनआइसी एशिया टप फाइभको सूचिमा परेको छ । यो सूचकमा सनराइज बैंकको प्रगति सबैभन्दा राम्रो छ । यो बैंकले अघिल्लो आर्थिक वर्षको दोश्रो त्रैमासको तुलनामा समीक्षा अवधिमा रिजर्बतर्फ ९५.४८ प्रतिशतको फड्को मारेको हो । ८४.८९ प्रतिशतको प्रगतिसहित नवील दोश्रो, ६८.८८ प्रतिशतको प्रगतिसहित सिटिजन्स बैंक तेश्रो स्थानमा छन् । ६६.१ प्रतिशतको फड्कोसहित एनआइसी एशिया चौथो र ६२.९८ प्रतिशतको प्रगतिसहित कुमारी बैंक पाँचौ स्थानमा छन्।

तर, सबैभन्दा बढी रिजर्बकोष भने नवील बैंकको १४ अर्ब बढी रहेको छ । त्यसपछि ११ अर्ब ९७ अर्ब इन्भेष्टमेन्ट बैंकको छ । धेरै रिजर्ब हुने टप फाइभ बैंकको सूचिमा भने एनआइसी एशिया छैन ।

यसैगरी, खराब कर्जा घटाउने प्रतिस्पर्धामा नवील बैंक सबैभन्दा अगाडि देखिएको छ । अघिल्लो आर्थिक वर्षको दोश्रो त्रैमासको तुलनामा यो वर्ष नवीलले ४५.१३ प्रतिशतले खराब कर्जा घटाएको हो । २४.२२ प्रतिशतले यस्तो कर्जा घटाई कुमारी बैंक दोश्रो र २४ प्रतिशतले कर्जा घटाई एभरेष्ट बैंक तेश्रो स्थानमा छन् । 

तर, सबैभन्दा कम खराब कर्जा रहेका टप फाइभ बैंकको सूचिमा एभरेष्ट बैंक र नेपाल एसबीआई बैंक अगाडि छन् । यी बैंकमा ०.१९ प्रतिशत मात्र खराब कर्जा छ । सानिमा बैंक ०.२४ प्रतिशत खराब कर्जाको अनुपातसहित तेश्रो तथा ०.३ प्रतिशतको खराब कर्जाको अनुपातसहित एनआइसी एशिया चौथो स्थानमा छन् । खराब कर्जामा इन्भेष्टमेन्ट र नवील एनआइसी एशिया भन्दा पछाडि छन् ।

दोश्रो त्रैमाससम्म नेपाल एसबीआई बैंकको कस्ट अफ फण्ड सबैभन्दा न्यून ५.९१ प्रतिशत मात्र छ । एसबीआई बैंकको यस्तो लागत ५.९२ प्रतिशत छ भने सानिमा बैंकको ६.२३ प्रतिशत छ । 

निक्षेप र कर्जा
निक्षेप र कर्जातर्फको प्रगति तथा कुल निक्षेप र कर्जा परिचालनमा एनआइसी एशियाले सबै बैंकलाई टपेको छ । 

समीक्षा अवधिमा एनआइसी एशियाले १ खर्ब ७५ अर्ब निक्षेप संकलन गरी १ खर्ब ४९ अर्ब कर्जा परिचालन गरेको छ । 

अघिल्लो आर्थिक वर्षको दोश्रो त्रैमासको तुलनामा बैंकले निक्षेप ४५.९ प्रतिशतले बढाएको छ भने कर्जा ४७.८९ प्रतिशतले बढाएको छ । 
निक्षेपतर्फको प्रगतिमा कुमारी बैंक दोश्रो स्थानमा छ भने माछापुच्छे बैंक तेश्रो स्थानमा छ । सानिमा र सिद्धार्थ बैंक क्रमशः चौथो र पाँचौ स्थानमा छन् । 

तर, कुल निक्षेप तथा कर्जा परिचालनको दोश्रो र तेश्रो स्थानमा भने नवील बैंक  र इन्भेष्टमेन्ट बैंक छन् । निक्षेप धेरै संकलन गर्ने बैंकको सूचिमा एभरेष्ट बैंक चौथो र ग्लोबल आइएमई बैंक पाँचौ स्थानमा छन् ।

कर्जातर्फ पनि एभरेष्ट र ग्लोबल आइएमई बैंकको त्यही पोजिसन छ ।

(प्राविधिक कारणले समाचारसँग सम्बन्धित टेबल अपलोड भइरहेको छैन, प्रतिक्षा गर्नुहोस्।)