-अर्जुन तिमिल्सिना
गत हप्ता पृथ्वी दक्षिणी गोलाद्र्धबाट उत्तरी गोलाद्र्धमा सर्दा राजधानीमा चिसो बढ्यो, तर शेयर बजारको पारो भने एकाएक तात्यो । सुरुको हप्तामा अर्थमन्त्री राष्ट्रिय सभाको दुईवर्षे कार्यकाल सकिएपछि ढिलो चाँडो पक्का हट्ने समाचारले बजार ततायो भने त्यसपछि बजारमा  बैंकिङ क्षेत्रमा तरलता बढेको र ब्याजदर घट्नसक्ने खबरले बजार टिक्न सहयोग गर्यो ।

विगतको इतिहास हेरेर मूल्याङ्कन गर्नेहरुले बजार ४३ महिनासम्म घटेर आफ्नो चक्र पूरा गरेको र विगतमा पनि बुलिस ट्रेन्ड सुरु यस्तै अफसिजनबाट भएकोले अब बजार माथि जाने अनुमानको साथ लगानी थप्दा बजार बढ्न मद्धत गर्यो र चार महिनापछि बजार १२०० बिन्दूभन्दा माथि गयो । 

अब एकथरि विश्लेषकहरुले बजार १२०० को बिन्दूभन्दा तल नआउने ठोकुवा गरिराख्दा लगानीकर्ताले विगतको तथ्य र आधारलार्इ भने बिर्सनु नहुने हुन्छ । यो हप्ता कारोबार लामो समयपछि एकैदिन अर्ब नाघ्यो र साप्ताहिक रुपमा पौने ५ अर्ब जतिको कारोबार हुनुले बजार भबिस्यमा बढ्ने संकेत गर्छ । 

शेयरको आधारभूत विश्लेषण गर्दा जहिले पनि कारोबारलाई हेर्ने गरिन्छ । प्राविधिक रुपमा हेर्दा र  मैनबत्ति विश्लेषण गर्नुपर्दा बजारले सेतो मैनबत्तिको आकार लामो र मुडुलो बनाएको छ । यो जति लामो र मोडुलो हुँदै गयो भबिष्यमा पनि बजार बढ्छ भन्ने नै हो । यसको अर्थ हुन्छ बजारमा शेयरको माग बढ्दै गएको छ र आपूर्ति घट्दैछ । बेच्ने लगानीकर्ता पछि हटेका छन् । दैनिक बजारको ट्रेन्डलाइ हेर्ने हो भने बजारले अन्त्यमा ूडब्लुू  आकार बनाएर बन्द भएको छ । बजार बन्द हुँदा डब्लु आकार बने भबिस्यमा बढ्ने र उल्टो एन र एम बने घट्ने हुन्छ ।

बजारमा मार्केट डेप्थको माग र आपूर्ति पक्षलाई केलाउने हो भने अत्यधिक माग बढेको देखिन्छ । माग बढदा मूल्य बढ्ने अर्थशास्त्रको सामान्य नियम हो । यो भनेको भबिस्यमा बजार बढ्ने संकेत हो । 

यी भए सामान्य प्राविधिक कुराहरु, तर शेयर बजारमा लगानी गर्ने लगानीकर्ताले जहिले पनि आधारभूत विश्लेषण र बिगत हेर्नुपर्ने हुन्छ । एकथरि लगानीकर्ताले बजार आहिले त्यति धेरै बढिनहाल्ने विश्लेषण गरिराख्दा लगानीकर्ताको मनमा बढेको चिसो के हो भने बजारले बिगतमा जस्तै झुक्याउने पो हो कि ? सेयर बजारको गति कस्तो हुन्छ भने कसैलाई झुक्याउँदै र कसैलाई मुण्टाउँदै नदीको गतिमा अघि बढ्छ । अझ बजारको सुन्दर पक्ष नै यही हो ।

वस्तुगतरुपमा अरु चिज हेर्दा पनि बजारले अब ढिलोचाँडो गति लिने देखिन्छ । एनसेलले सरकारलाई तिर्न बाँकी २० अर्बभन्दा बढी कर तिर्न किस्ताबन्दी सुविधाको माग गरिसकेको र सरकारी पक्ष त्यस्तो सुविधा दिन तयार भइसकेको देखिन्छ । यसउले सरकारी ढुकुटीमा तरलता थपिँदै जान्छ । सरकारले पनि बिकास बजेट अहिले गत सालहरुको तुलनामा समयमै गरेको हुँदा तरलता थप बढ्न गई ब्याजदर घट्ने संभावना देखिन्छ । 

ब्याजदर घट्दै जाँदा सेयर बजारमा यसको असर सकारात्मक हुने हुँदा भबिस्यमा बजार माथि जाने सम्भावना देखिन्छ । 

अर्को सकारात्मक पक्ष के छ भने धितोपत्र बोर्डले नयाँ अध्यक्ष पाएको छ । ५८  बुंदे बजार विकासका सुधारका कार्यक्रमसहित आएका अध्यक्षको नयाँ जोस र जाँगरका आएका संकेत प्राप्त भएको छ । बैंकहरुलाई ब्रोकर लाइसेन्स दिने, मार्जिन ट्रेडिङ्गको काम अघि बढ्ने, पूर्ण अनलाइन कारोबार हुने जस्ता सकारात्मक काम हुने संभावना देखिन्छ । साथै धेरैले नरुचाएका अर्थमन्त्री पनि हट्नसक्ने बलियो संभावनाहरु देखा परिरहेका छन् । यस्तो भयो भने यो वर्ष बजार १५ सयको हाराहरिमा पुगेर बस्ने र आउँदो सालबाट नयाँ उचाई चुम्दै अघि बढ्ने निश्चित छ ।

बजारले लगानीकर्तालाई धेरै झुक्याएकोले झट्ट विश्वास नगर्नु स्वभाविक नै हो, तर बुल रन आउन थालेपछि साँढेको कुदाई कसैले रोक्न नसकेको विगत साक्षी छ । शेयर बजारका बादशाह वारेन बफेटले भनेका छन्–‘अरु डराएको बेला तिमी हौसिनु र अरु हौसिएको बेला तिमी डराउनु ।’ अहिले अरु डराएर सस्तो मूल्यमा राम्रा कम्पनी बेचेको बेला हो । वारेन बफेटले थप भनेका छन्–‘बजारमा जहिले पनि छोटो अबधिको खेल हुन्छ। यो बजारको प्रकृति नै हो । खराब समाचार सेयर बजारका लागि खतराको सूचक हो । त्यतिबेला मानिसहरुले सेयर हुर्रिएर बेच्न तयार हुन्छन् । त्यही बेला नै तपाईले राम्रो कम्पनीको सेयर किनेर राख्न सक्नुपर्छ । उदाहरणका लागि एनआइबी बैंक र शिवम सिमेन्टमा अहिले त्यस्तै भएको छ । बजारमा यस्तो धेरै हुन्छ । लगानीकर्ताले सही समयमा सही कम्पनी समात्ने सही निर्णयले मात्र सेयरबाट मनग्गे कमाउने अवसरको सिर्जना गर्छ ।