काठमाडौं । मंगलबार दोश्रो बजारमा यूनाइटेड फाइनान्सका लगानीकर्ताले धेरै कमाएका छन् । यो कम्पनीको सेयर मूल्य ९.८२ प्रतिशतले बढेको हो । 

यो कम्पनीले भारतको मुत्तुट फाइनान्सलाई रणनीतिक साझेदारको रुपमा भित्र्याउने खबरले यूनाइटेड फाइनान्सको सेयर मूल्य आकाशिएको हो ।  

यूनाइटेड फाइनान्सले मुत्तुटलाई प्रिमियमसहित प्रतिकित्ता १९० रुपैयाँको दरले सेयर जारी गरी रणनीतिक साझेदारको रुपमा भित्र्याउन लागेको हो । कम्पनीले मुत्तुटलाई भित्र्याउने उद्देश्यले प्रतिकित्ता १९० रुपैयाँको दरले २१ लाख कित्ता एफपीओ निश्कासन गर्नेछ । यसरी हेर्दा मुत्तुटले यूनाइटेड फाइनानसमा ३९ करोड ९० लाख रुपैयाँ लगानी गर्ने देखिन्छ । 

मुत्तुटलाई रणनीतिक साझेदारको रुपमा भित्र्याउने योजनासहित यूनाइटेड फाइनान्सले कात्तिक ३० गते आफ्नो साधारणसभा आह्वान गरेको छ । 

एफपीओ खरीद गरी आउने मुत्तुटको यूनाइटेड फाइनान्समा सेयर हिस्सा २० प्रतिशत हुनेछ । संस्थापकतर्फ मुत्तुटको २० प्रतिशत शेयर हिस्सा थपिदाँ सर्वसाधारणको हिस्सा घटेर ३८ प्रतिशतमा सीमित हुनेछ ।  यूनाइटेडको हालको चुक्ता पूँजी ८० करोड रुपैयाँ रहेको छ। जगेडा कोषमा २२ करोड ४३ लाख रुपैयाँ रहेको छ।  मुत्तुट भित्रिएपछि कम्पनीको चुक्तापूँजी १ अर्ब बढी हुनेछ । 

कम्पनीमा अहिले ६ जना मात्रै सञ्चालक छन्। मुत्तुटबाट एक जना थपिएपछि सञ्चालक समिति पूर्ण हुने छ। अब मुत्तुट सहित ४ जना संस्थापक संञ्चालक, दुर्इ जना सर्वसाधारण संञ्चालक र एक जना स्वतन्त्र सञ्चालक रहने गरी नियमावली संसोधनको प्रस्ताव समेत साधारणसभामा पेश गरिनेछ । 

मुत्तुट भारतमा सुन कर्जा प्रवाहका लागि चिनिएको वित्तीय संस्था हो । मुत्तुटलाई साझेदारको रुपमा भित्र्याएपछि सरल र सहज ढंगले सुन धितो कर्जा प्रवाहमा यूनाइटेड फाइनान्स केन्द्रीत हुने बताइएको छ । मुत्तुटको नेपाल प्रवेशपछि यूनाइटेड फाइनान्सले समेत  आफ्ना कर्मचारीलाई दक्ष बनाई १० मिनेटमै सुन धितो कर्जा प्रवाहको वातावरण बनाउने कम्पनीका अधिकारीहरुले दाबी गरेका छन् ।