मुस्ताङ । पर्यटकीय जिल्ला मुस्ताङमा पछिल्लो छ महिनामा १५ हजार पर्यटकले अवलोकन भ्रमण गरेका छन् । 

राउण्ड अन्नपूर्ण पदमार्गअन्तर्गत पर्ने मुस्ताङमा पदयात्रासँगै लोमान्थाङ, धार्मिकस्थल मुक्तिनाथ, दामोदरकुण्ड, कागबेनी र प्राकृतिक सुन्दरतामा रमाउन बर्से्नि बाह्य पर्यटक आउने गरेका छन् । 

सन् २०१६ को जनवरीदेखि मे महिनासम्म १५ हजार ३३८ जना पर्यटकले जिल्ला भ्रमण गरेको अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप) जोमसोमकी प्रमुख निरु थापाले जानकारी दिइन । उनका अनुसार सोमध्ये एक हजार १४ जना उपल्लो मुस्ताङको भ्रमणमा गएका छन् । 

यस वर्ष कोरला नाकासम्म सहज यातायात व्यवस्था, तिजी पर्वका कारण उपल्लो मुस्ताङ जाने पर्यटकको संख्या पनि बढी रहेको बताइएको छ । अमेरिका, दक्षिण कोरिया, चीन, जापान, फ्रान्स, जर्मनी, क्यानडालगायत देशबाट बढी पर्यटक मुस्ताङ भ्रमणमा आउने गरेको एक्यापले जनाएको छ । 

सन् २०१५ मा २३ हजार २७२ जना तेस्रो मुलुकका पर्यटक मुस्ताङ भ्रमणमा आएका थिए । देशको राजनीतिक अवस्थामा सुधार आएको र भ्रमणका लागि मुस्ताङ सुरक्षित रहेको सन्देश प्रवाह भइरहेकाले यस वर्ष पर्यटक आगमनमा पनि सकारात्मक प्रभाव परेको छ ।