काठमाण्डौ । विभिन्न क्षेत्रमा कारोबार गर्ने कम्पनी रिलायन्स इण्डस्ट्रिजका मालिक मुकेश अम्बानी १० वर्षसम्म लगातार भारतका सबैभन्दा धनी व्यक्ति बन्न सफल भएका छन् । उनको कुल सम्पत्ति बढेर ३८ अर्ब डलरको उचाईमा पुुगेको छ । फोब्र्स पत्रिकाले जारी गरेको भारतका १०० धनी व्यक्तिहरुको सम्पत्ति आर्थिक मन्दीको बाबजुद २६ प्रतिशतले बढेको देखिएको छ । 

अमेरिकी पत्रिका फोब्र्सका अनुसार भारतको तेश्रो ठूलो सफ्टेवयर कम्पनी विप्रोका अजीम प्रेमजी १९ अर्ब डलर सम्पत्तिका साथ भारतको दोश्रो धनी व्यक्ति बन्न सफल भएका छन् । उनले गत वर्षको तुलनामा २ स्थानको छलाङ मारेका छन् । दबाई बनाउने कम्पनी सन फर्माका दिलिप संघावी १२.१ अर्ब डलरको सम्पत्तिको साथ नवौं स्थानमा छन् । उनी गत वर्षको सूचिमा भारतको दोश्रो धनी व्यक्तिको रुपमा थिए । 

फोब्र्सका अनुसार प्रधानमन्त्री नरेन्द्र मोदीको आर्थिक प्रयोगको असर अर्बपतिहरुमा भने न्यून मात्र परेको छ । गत एकवर्षको अवधिमा मूकेश अम्बानीको सम्पत्तिमा १५.३ अर्ब डलर अर्थात ६७ प्रतिशतले वृद्धि भएको फोब्र्सको रिपोर्टमा उल्लेख छ । उनी भारतको सर्वाधिक धनी मात्र होइन, एशियाका पाँचौ धनी व्यक्तिको रुपमा सूचिमा पर्न सफल भएका छन् । मूकेश अम्बानीका कान्छा भाई अनिल अम्बानी अर्बपतिको सूचिमा ४५ औं स्थानमा धकेलिएका छन् । उनको सम्पत्ति ३.१५ अर्ब डलर रहेको छ । उनी गत वर्षको सूचिमा ३२ औं र सन् २०१५ को सूचिमा २९ औं स्थानमा थिए । 

योगगुरु रामदेवका सहयोगी मानिने नेपाली मूलका पतञ्जली आयुर्वेदका आचार्य बालकृष्णले निकै ठूलो फड्को मारेका छन् । उनी यो सूचिमा १९ औं स्थानमा समेटिएका छन् । उनको कुल सम्पत्ति ६.५५ अर्ब डलर रहेको छ । गत वर्ष फोब्र्सले जारी गरेको भारतका १०० धनाढ्यको सूचिमा उनी ४८ औं स्थानमा थिए । 

फोब्र्सका अनुसार भारतको तीव्र गतिमा बढिरहेको अर्थव्यवस्थालाई गत वर्षको नोभेम्बरमा नोटबन्दी र जिएसटी कार्यान्वयनका निर्णयले केही सुस्त बनाइदिएको थियो । यहीकारण जुन महिनामा समाप्त हुने त्रैमासमा आर्थिक वृद्धिदर तीनवर्षको न्यून स्तरमा अर्थात ५.७ प्रतिशतमा समेटिन पुुगेको थियो । तर, यसको बाबजुद सेयर बजारले भने निकै राम्रो गति लियो, जसका कारण भारतका १०० धनाढ्यको सम्पत्तिमा निकै राम्रो वृद्धि भयो ।