काठमाण्डौ । श्री लूनकरणदास–गङ्गादेवी चौधरी साहित्यकला मन्दिरले आफ्नो २३औं वर्षगाँठको अवसरमा बुधबार वार्षिक पुरस्कार तथा सम्मान अर्पण कार्यक्रम सम्पन्न गरेको छ । 

संस्थाका अध्यक्ष कवि, गीतकार बसन्त चौधरीको सभापतित्व तथा इतिहासकार प्राध्यापक डा. त्रिरत्न मानन्धरको प्रमुख आतिथ्यमा सम्पन्न पुरस्कार वितरण समारोहमा यस वर्षको ‘गङ्गादेवी चौधरी स्मृति सम्मान’(साहित्यतर्फ) कवयत्री तोया गुरुङ्गलाई, ‘सरस्वती सम्मान’ (काव्यतर्फ) गीतकार कालिप्रसाद रिजाललाई, ‘इतिहास शिरोमणी बाबुराम आचार्य शोध सम्मान’ (इतिहासतर्फ) प्राध्यापक हरिकान्तलाल दासलाई, ‘नारायण गोपाल संङ्गीत सम्मान’(आधुनिक संगीत तथा गायनतर्फ) गायक दीप श्रेष्ठलाई, ‘अरनिको ललितकला सम्मान’(चित्रकलातर्फ) बरिष्ठ कलाकार उत्तम नेपालीलाई, ‘बालकृष्ण सम रङ्ग सम्मान’ (नाट्य लेखन र निर्देशनतर्फ) वयोवृद्ध वरिष्ठ मैथिली नाट्य लेखक तथा निर्देशक महेन्द्र मलंगियालाई प्रदान गरियो भने यस बर्षको ‘नेपाल नव प्रतिभा पुरस्कार’ (खेलकूदतर्फ) चर्चित अल्ट्रा धाविका मीरा राईलाई प्रदान गरियो ।

समारोहमा कवि गीतकार तथा संस्थाका अध्यक्ष बसन्त चौधरीको नयाँ कृति जीवन मन्त्र’को लोकार्पण समेत गरिएको थियो । संस्थाकी कोषाध्यक्ष मेघा चौधरी शाक्यको स्वागत मन्तव्यबाट सुरू गरिएको कार्यक्रमको समुद्घाटन प्रमुख अतिथि प्राध्यापक डा. त्रिरत्न मानन्धरले पानसमा बत्ती बाली गरेका थिए । 

संस्थाकी कोषाध्यक्ष मेघा चौधरी शाक्यले स्वागत मन्तव्य राख्ने क्रममा आफ्नो बाल्यकालमै जन्मिएको साहित्यकला मन्दिर सँगसँगै विगत २३ वर्षदेखि बामे सर्दै आफू हुर्किएको, आफ्ना पिताको काव्य यात्रालाई पछ्याउँदै आफूले पनि केही साङ्गीतिक प्रस्तुति दिएको स्मरण गरिन् र  सम्मानीत स्रष्टाहरूले राष्ट्रलाई साहै्र ठूलो गुण लगाएको बताइन ।  

सम्मानित स्रष्टाहरूका तर्फबाट वरिष्ठ गायक तथा सङ्गीतकार दीप श्रेष्ठले “नारायण गोपाल सङ्गीत सम्मान”को प्राप्ति जीवनकै अहोभाग्य भएको बताए । यसले आफूमा थप जिम्मेवारी महसुुस भएको पनि उनले बताए । 

अध्यक्ष बसन्त चौधरीले आफ्ना मातापिताको नाममा स्थापना गरेको साहित्यकला मन्दिरले आफ्नो २३ औं वर्षगाँठ मनाइरहँदा मानसपटलमा आफ्ना मातापिताको आदर्श, मार्गदर्शन र साहित्य–कलाप्रतिको उहाँहरूको समर्पण स्मृतिका रुपमा झल्किरहेको बताए । साहित्य, कला र सङ्गीतमध्ये कुनै एक गुण मानिसमा नभई नहुने गुण रहेको, समाज कति सभ्य र सुसंस्कृति छ भनेर हेरिने मापदण्ड नै त्यस समाजको भाषा, साहित्य र संस्कृतिको स्तरले निर्धारण गर्ने हुँदा आफ्नो समाजलाई सिर्जनशील बनाउनुपर्ने, सिर्जनाकर्मीहरूलाई प्रोत्साहन गर्नुपर्ने र तिनको संरक्षण तथा सम्बद्र्धन गर्नमा सबै लाग्नुपर्नेमा उनको जोड थियो । 

कार्यक्रममा लुम्बिनी विश्वविद्यालयका उपकुलपति तथा इतिहासकार प्रा.डा. त्रिरत्न मानन्धरले साहित्य र कलाले तत्कालीन समाजको चित्रण गर्ने हुँदा कलाशिल्पीहरूको आदर–सम्मान गर्नु भनेको समाजकै र राष्ट्रकै सम्मान भएको बताए । 

गङ्गादेवी चौधरी स्मृति सम्मान रू १ लाख १ हजार नगद, ताम्रपत्र र दोसल्ला सहितको तथा अन्य सबै पुरस्कारहरू रू ५१ हजार नगद, ताम्रपत्र र दोसल्ला सहित प्रदान गरिएको संस्थाले जनाएको छ ।