काठमाण्डौ । भारतबाट फर्किने क्रममा बसमै ज्यान गुमाएका अर्घाखाँचीका एक युवकमा ६ दिनपछि शुक्रबार कोरोना पुष्टि भएको छ।

भारतको गुजरातबाट नेपाल फर्कदै गर्दा बाटोमा मृत्यु भएका अर्घाखाँचीको भुमिकास्थान नगरपालिका वडा नम्बर ९ ढिकुराका ३५ वर्षीय युवामा कोरोना संक्रमण पुष्टि भएको हो। वडाध्यक्ष नारायणप्रसाद खनालका अनुसार कोरोना संक्रमण पुष्टि भएका युवकको शव ४ दिनअघि नै गाडेर अन्त्येष्टि गरिसकिएको छ। ‘हामीले परिवारसँग सल्लाह गरेर कोरोना सुरक्षाका मापदण्ड अपनाएर शव गाडेका थियौँ’, उनले भने। 

भारतको लखनउ आसपास आईपुग्दा ती युवाको गत जेठ १० गते बसभित्रै मृत्यु भएको थियो। बसमा आउँदा उनले आफूलाई छटपटी भएको बताएका थिए। उनलाई छाती दुख्ने र बान्ता पनि भएको थियो। 

शव कृष्णनगरबाट गएको एम्बुलेन्सले भारतीय सीमा बजार बढनीबाट नेपाल ल्याएको थियो। ती युवकको प्रदेश जनस्वास्थ्य प्रयोगशाला भैरहवामा गरिएको स्वाब परीक्षणमा कोरोना पुष्टि भएको हो। 

शवसँगै आएका अन्य दुईजनाको रिपोर्ट भने नेगेटिभ आएको प्रदेश अस्पतालले जनाएको छ। उनीहरूसँगै अर्घाखाँचीका ८० जनाको समूहमा आएका सबैलाई क्वारेन्टाइनमा राखिएको छ।