काठमाण्डौ । अनुपमा खुञ्जेलीले व्यवस्थापनको नेतृत्व लिएपछि मेगा बैंक लिमीटेडले केही सूचकहरुमा आफूलाई सुधार गर्दै लगेको देखिए पनि अघिल्लो आर्थिक वर्षको तेश्रो त्रैमासको तुलनामा अवस्था खस्किएको छ । 

"संयुक्त कारोबारमा केही ढिलाई नभएको भए बैंकको नाफा तथा अन्य सूचकांकमा अझ सकारात्मक प्रभाव पर्ने थियो, अब मर्जरपछि बैंकले नयाँ गति लिनेछ ।"

चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्म बैंकले ५२ करोड ४९ लाख खूद नाफा आर्जन गरेको छ । पहिलो त्रैमासिक अवधिमा ८ करोड  ११ लाख कमाएकोमा दोस्रोमा पुग्दा ३९ करोड ३६ लाख मुनाफा आर्जन गरेको थियो । अघिल्लो आर्थिक वर्षको सोही अवधिमा मेगाले ५४ करोड २४ लाख खूद नाफा आर्जन गरेको थियो । यसरी बैंकको खूद नाफा ३.२२ प्रतिशतले घटेको देखिएको छ । 

बैंकको संचालन नाफा पनि घटेको छ । समीक्षा अवधिमा ६८ करोड ४२ लाख संचालन मुनाफा आर्जन भएको हो । अघिल्लो वर्ष यस्तो नाफा ८० करोड  २९ लाख रहेको थियो । 

यसैगरी, दोस्रो त्रैमासिकको तुलनामा तेस्रो त्रैमासमा खुद ब्याज आम्दानी ५३ दशमलव ७१ प्रतिशतले बढेको छ । खुद ब्याज आम्दानी दोस्रोमा ८४ करोड ६३ लाख रहेकोमा तेस्रो त्रैमासिकमा १ अर्ब ३० करोड पुगेको हो । यसले समेत महिलाले नेतृत्व हाँकेपछि मेगा बैंकले लय समाउन थालेको देखाउँछ ।  गत वर्षको यही अवधिमा खूद ब्याज आम्दानी १ अर्ब १४ करोड रुपैयाँ रहेको थियो । 

अघिल्लो त्रैमाससम्म १ अर्ब २ करोडमा सीमित जगेडाकोष बढेर १ अर्ब ८१ करोडको उचाईमा पुगेको छ । 

समीक्षा अवधिमा ४३ अर्ब निक्षेप संकलन गरी ४१ अर्ब २८ करोड कर्जा परिचालन गरेको छ । अघिल्लो वर्ष यही अवधिमा बैंकले ३८ अर्ब ४४ लाख निक्षेप संकलन गरी ३४ अर्ब  ९१ लख कर्जा परिचालन गरेको थियो ।

बैंकको खराब कर्जा अनुपात बढेको छ । अघिल्लो वर्षको तेश्रो त्रैमाससम्म ०.८७ प्रतिशतको अनुपातमा रहेको खराब कर्जा बढेर ०.९८ प्रतिशतको उचाईमा पुगेको हो । यस्तै, १५.५९ प्रतिशत रहेको इक्वीटीमा प्रतिफल घटेर ९.९ प्रतिशतमा सीमित बन्न पुगेको छ ।

नाफा घटेका कारण मेगा बैंकको प्रतिसेयर आम्दानी ७.१२ रुपैयाँमा खुम्चिएको छ ।

मर्जरकै कारण केही बैंकहरुको वित्तीय विवरणहरुमा सुधार देखिरहँदा टुरिजम डेभलपमेन्ट बैंकसँग मर्जरको प्रक्रियामा रहेको मेगा बैंकको वित्तीय आकार र सूचकहरु भविष्यमा केही सुदृढ हुने आशा गरिएको छ । 

नेपाल राष्ट्र बैंकका साथै कम्पनी रजिष्ट्रारको कार्यालयबाट मर्जरका लागि अन्तिम स्वीकृति प्राप्त गरेको मेगा बैंक र टुरिजमबीच यथाशिघ्र संयुक्त कारोबारको तयारी भइरहेको बैंक स्रोतले बताएको छ । 

टुरिजमले मात्रै तेश्रो त्रैमासमा २१ करोड २४ लाख खूद नाफा आर्जन गरेको छ । 

‘मर्जरपछि मेगा बैंक पुँजीका आधारमा नेपालकै ठूलो बाणिज्य बैंक मध्येको एक बन्नेछ, हाम्रो नेटवर्क र व्यापार पनि बढ्नेछ,’ मेगा बैंककी सिइओ अनुपमा खुञ्जेलीले भनिन्, ‘हाम्रो पहिलो प्राथमिकता मर्जर नै हो । संयुक्त कारोबारमा केही ढिलाई नभएको भए बैंकको नाफा तथा अन्य सूचकांकमा अझ सकारात्मक प्रभाव पर्ने थियो, अब मर्जरपछि बैंकले नयाँ गति लिनेछ ।’