काठमाण्डौ । मेगा बैंक नेपाल लिमिटेडले गण्डकी विकास बैंक लिमिटेडलाई प्राप्ति गर्ने बुधबार समझदारी भएको छ । 

मेगा बैंकले विगतमा केही वाणिज्य बैंकहरुसँग मर्जरमा जाने प्रयास गरेको थियो । मर्जरकै लागि यो बैंकले आधादर्जन वाणिज्य बैंकसँग लामो समयसम्म छलफल चलायो । तर, सो क्रममा कुरा मिल्ने अवस्था नदेखिएपछि यो बैंकको संचालक समितिले मर्जर रणनीति परिवर्तन गर्दै राम्रा र साना संस्थालाई गाभेर बलियो बन्ने बाटो रोजेको छ । 

यही रणनीतिको पहिलो कार्यान्वयनको रुपमा गण्डकी विकास बैंकलाई प्राप्तिको समझदारी बनेको बैंकका एक संचालकले बिजशालालाई जानकारी दिएका छन् । 

सेयर बजारमा मेगा बैंकले गण्डकी विकास बैंकलाई कस्तो सेयर स्वाप रेसियोमा गाभ्ने समझदारी गर्यो भन्ने विषयमा चासो देखिएको छ। 

दोश्रो बजारमा मेगा बैंकको सेयरको अन्तिम कारोबार मूल्य प्रतिकित्ता १९२ रहेको छ, जबकि राम्रो र बलियो विकास बैंकको रुपमा रहेको गण्डकी विकास बैंकको सेयर मूल्य प्रतिकित्ता २०१ रुपैयाँ रहेको छ । यसरी हेर्दा सेयर बजारले मेगालाई भन्दा गण्डकी विकास बैंकलाई बढी भाउ दिएको देखिन्छ । त्यसो हो भने यी दुई बैंकबीच प्राप्तिको सम्झौता हुँदै गर्दा सेयर स्वाप रेसियो चाहि कतिमा समझदारी बन्यो होला ? मेगा बैंक र गण्डकी विकास बैंकस्थित उच्च स्रोतहरुकाअनुसार मेगा र गण्डकीबीच १ बराबर १ को सेयर स्वाप रेसियोमा कुरा मिलेको हो । 

पछिल्लो पटक मर्जरको लहर चलिरहेको बेला गण्डकी विकास बैंक यस्तो बैंक बन्न पुगेको छ, जो वाणिज्य बैंकसँग समान सेयर स्वाप रेसियोमा गाभिनेछ । यसअघि एनएमबी बैंकसँग गाभिई एकीकृत कारोबारको तयारी गरेको ओम बैंकले १००: ७२ को मात्र सेयर स्वाप पाएको छ भने प्राइममा गाभिन लागेको कैलाश विकास बैंकले पनि ९२ रुपैयाँ मात्र पाएको छ । यो हिसाबले समेत समकालीन र प्रतिस्पर्धी विकास बैंकको तुलनामा गण्डकीले राम्रो मूल्य पाएको बताइन्छ । 

कस्तो बन्ला बैंक ?
मेगा बैंक सञ्चालक समितिका अध्यक्ष भोजबहादुर शाह र गण्डकी विकास बैंक लिमिटेडका सञ्चालक समितिका अध्यक्ष सुशील गौचनले दुबै बैंकको सञ्चालक समितिका सदस्यहरु लगायत प्रमुख कार्यकारी अधिकृतहरुको रोहवरमा बुधबार सैद्धान्तिक सहमतिपत्रमा हस्ताक्षर गरेका थिए ।

यो प्राप्तिपछि मेगा बैंकको पुँजी, व्यवसायको आकारका साथसाथै शाखा सञ्चालनमा बृहत वृद्धि भई देशकै एक ठूलो “क” वर्गको वाणिज्य बैंकको रुपमा स्थापित हुने मेगा बैंकका अध्यक्ष शाहले बताए । 'हामी ११ औं नम्बरको बैंक बन्नेछौ ।' उनले बिजशालासँग भने–‘प्राप्ति सकिँदासम्म शाखा संख्या २०० पुग्नेछ भने कर्मचारीहरुको संख्या २ हजारको हाराहारीमा पुग्नेछ ।' 

आषाढ मसान्त २०७६ को तथ्यांक अनुसार दुबै बैंकको संयुक्त निक्षेपको आकार रु. १ खर्ब १२ अर्ब तथा कर्जा लगानीको आकार रु. ९८ अर्ब रहेको छ । हाल यी दुवै बैंकको शाखा संख्या १९१ रहेको छ ।

समान सेयर स्वापमा गाभिने भएकोले गण्डकीको बिलयपछि बन्ने मेगा बैंकको चुक्तापूँजी १३ अर्ब माथि पुग्नेछ । 

प्राप्तिपछि बन्ने एकीकृत संस्थाको नाम मेगा बैंक नै रहनेछ भने मेगा बैंककै अध्यक्ष, संचालकहरु र प्रमुख कार्यकारी अधिकृतहरुले निरन्तरता पाउनेछन् ।