काठमाण्डौ । मेगा बैंक लिमीटेडले अन्ततः चुक्तापूँजीको हिसाबले देशको दोश्रो ठूलो बैंक बन्न सफल भएको छ । 

सेयरधनीहरुबीचको निकै लामो किचलो र विवादका कारण शुक्रबार बिहान सुरु भएर राति अबेरमा मात्र सम्पन्न बैंकको सातौ वार्षिक साधारणसभाबाट संचालक समितिले गरेको १० दशमलव ७५ प्रतिशत बोनस सेयरको प्रस्ताव पारित भएसँगै बैंकको चुक्तापूँजीको हिसाबले देशकै दोश्रो ठूलो बैंक बन्न सफल भएको हो । 

बैंकले बोनस सेयर पारित गरेसँगै चुक्तापूँजी बढेर १० अर्ब २८ करोड ६८ लाख रुपैयाँ माथि पुगेको छ । नेपालका बैंकमध्ये नेपाल इन्भेष्टमेन्ट बैंकको सबैभन्दा बढी १० अर्ब ६५ करोड रुपैयाँ चुक्तापूँजी रहेको छ । 

बैंकले दिएको जानकारी अनुसार असार १४ गतेसम्म कायम सेयरधनीले बोनस पाउनेछन्। 

मेगाको गत पुस २५ गते सम्पन्न सञ्चालक समिति बैठकले ७ अर्ब ३७ करोड ६७ लाख ४२ हजार ५२० रुपैयाँको ९.४५ प्रतिशत र टुरिजम डेभलपमेन्ट बैंकको गत चैत १२ गते सम्पन्न सञ्चालक समिति बैठकले १५ प्रतिशत बोनस सेयर वितरण गर्ने प्रस्ताव गरेको थियो । तर, टुरिजम मेगामा बिलय भइसकेपछि जेठ २९ गते सम्पन्न २२१ औं सञ्चालक समिति बैठकले दुबै बैंकले यसअघि प्रस्ताव गरेको बोनसलाई संसोधन गरेर समान दुवैका सेयरधनीलाई १०.७५ प्रतिशतका दरले बोनस वितरण गर्ने निर्णय गरेको थियो ।

मेगाले बैशाख ३० गतेदेखि टुरिजमलाई गाभेर एकीकृत बित्तीय कारोबार थालेको थियो । 

साधारणसभाले ४ वर्षका लागि नयाँ संचालक समेत निर्वाचित गरेको छ । संचालक समितिको अध्यक्षमा भोजबहादुर शाह नै दोहोरिएका छन् ।