काठमाण्डौ । मेगा बैंक नेपाल लिमिटेड र साना तथा मझौला व्यवसायी महासंघबीच साना मझौला व्यवसायको प्रबद्र्धनका लागि सम्झौता भएको छ । 

मेगा बैंक नेपाल लिमिटेडकी प्रमुख कार्यकारी अधिकृत अनुपमा खुञ्जेली र साना तथा मझौला व्यवसायी महासंघका अध्यक्ष बाबुकाजी महर्जनबीच सम्झौता पत्रमा हस्ताक्षर भएको हो । 

यो सम्झौताबाट महासंघमा आबद्ध १२ हजार भन्दा बढी साना तथा मझौला व्यावसायी लाभान्वित हुने बताइएको छ । खासगरी न्यून आए भएका तथा विपन्न समुदायका व्यक्तिहरुलाई यो सम्झौताले लक्ष गरेको छ । 

सम्झौता अनुसार, व्यवसायीहरुले मेगा बैंकको प्राथमिकताप्राप्त क्षेत्र अन्तर्गतका कर्जा, लघुवित्त कर्जा तथा नेपाल सरकारको सहुलियतपूर्ण कर्जामा प्राथमिकता दिइनेछ । 

साना तथा मझौला व्यवसाय संचालन गरिरहेका तथा नयाँ व्यवसाय संचालन गर्न चाहने नेपालभरका १८ देखि ६० बर्ष उमेरका व्यवसायीहरु यो सम्झौताबाट लाभान्वित हुने मेगा बैंकको विश्वास छ । 

यसैगरी, मेगा बैंकका अन्य कर्जा तथा सेवामा पनि साना मझौला व्यवसायीहरुलाई प्राथमिकता दिने सम्झौता पत्रमा उल्लेख छ ।