काठमाण्डौ । मेगा बैंक नेपाल लिमिटेडले उदयपुरको त्रियुगा नगरपालिकाको देउरीमा शाखारहित बैंकिङ सेवा आरम्भ गरेको छ । 

त्रियुगा नगरपालिका वडा नं. ५ का वडा अध्यक्ष उद्धवकुमार थापा र मेगा बैंक रौतामाई शाखाका प्रबन्धक रैसुल आजमले एक कार्यक्रमका बीच देउरीमा शाखारहित बैंकिङ्ग सेवाको शुरुवात गरे । 

त्रियुगा नगरपालिकामा रेमिट्यान्सबाट भित्रिएको लाखौं रकम उपभोग र विलासितामा खर्च भइरहेको भन्दै वडाध्यक्ष थापाले मेगा बैंकको शाखारहित बैंकिङ्ग सेवामार्फत घरदैलोमा बचत गर्न देउरीबासीलाई सजिलो भएको बताए । साथै, आगामी दिनमा शाखारहितमा मात्र सीमित नभई बैंकको शाखा नै विस्तार गर्न उनले आग्रह गरे ।

स्थानीय स्वयम्सेवी रामहरि पोख्रेलले बैंकहरु विश्वासमा चल्ने संस्था भएकोले सबैलाई विश्वासमा लिएर मेगा बैंकले छिटो छरितो रुपमा सेवा दिनुपर्ने बताए । 

शाखा प्रबन्धक आजमले ग्रामीण क्षेत्रको आर्थिक अवस्था उकास्न मेगा बैंकले गाउँको खेतीयोग्य जग्गाहरु समेत धितो राखेर सहज तरिकाले १० लाख रुपैँयांसम्मको सरल कर्जा प्रदान गर्दै आएको बताए ।