काठमाण्डौ । मेगा बैंक नेपाल लिमिटेडले शेयरधनीहरुका लागि बोनस शेयर सहित ७.८५ प्रतिशत लाभांश पारित गरेको छ । 

काठमाडौँमा सोमबार सम्पन्न मेगा बैंकको आठौँ बार्षिक साधारण सभाले आर्थिक वर्ष २०७४/७५ सम्म सञ्चित मुनाफा एवं वितरणयोग्य अन्य रकम मध्येबाट हाल कायम चुक्ता पुँजीको ६.८५ प्रतिशतले हुन आउने ७० करोड ४५ लाख ५८ हजार ५ सय ७० रुपैँया ५९ पैसा नगद लाभांश पारित गरेको हो । यसैगरी, चुक्ता पुँजीको १ दशमलव ००२३३ प्रतिशले हुन आउने १० करोड ३० लाख ९४ हजार ८ सय ७५ रुपैँया ८० पैसा बोनस शेयर पनि साधारण सभाले पारित गरेको छ । 

यसैगरी, साधारण सभाले बैंकमा वैदेशिक रणनीतिक साझेदार ल्याउन सञ्चालक समितिलाई अख्तियारी दिएको छ । 

मेगा बैंकका अध्यक्ष भोजबहादुर शाहले प्रचलित ऐन तथा कानुनको अधिनमा रही वैदेशिक रणनीतिक साझेदारको पहिचान गर्ने सम्बन्धमा आवश्यक कार्य गर्नका लागि सञ्चालक समितिलाई अख्तियारी प्रदान गर्न गरेको प्रस्तावलाई साधारणसभाले पारित गरेको हो । 

छोटो समयमै मेगा बैंक देशकै अग्रणी बैंक बन्न सफल भएकोमा आफूलाई गौरव लागेको भन्दै अध्यक्ष शाहले वैदेशिक रणनीतिक साझेदार ल्याउने विषयमा बैंकले छलफललाई अगाडि बढाइसकेको जानकारी दिए ।

साधारणसभापछि बैंकका अध्यक्ष शाहले भने– ‘हामीले मेगा बैंकलाई संघियताको ढाँचामा लगिसकेका छौँ । सोही अनुरुप बुटवलमा आफ्नै प्रादेशिक कर्पोरेट कार्यालय भवनको शिलान्यास भई भवन निर्माण कार्य अघि बढाएका छौँ । केन्द्रीय कार्यालय भवन निर्माणका लागि जग्गा खरिद प्रक्रिया अगाडि बढाइएको छ ।’ 

मेगा बैंकले मर्जरको ढोका पनि खुल्ला राखेको छ । मेगा बैंकमा अर्को कुनै बैंक वा वित्तीय संस्था एक आपसमा मर्ज गर्न तथा एक्विजिसनका लागि बैंकको चल–अचल सम्पत्ति, दायित्व तथा कारोबारको पछिल्लो मुल्यांकन गर्न मुल्यांकनकर्ता नियुक्त गर्न साधारण सभाले अनुमति दिएको छ ।

‘हलोदेखि हाइड्रोसम्म’का जनताको पहुँचमा बैंकको सञ्जाललाई विस्तार गर्न मर्जरको ढोका पनि खुल्ला राखिएको अध्यक्ष शाहले बताए । 

मेगा बैंकमा गतबर्षमात्रै टुरिजम डेभलपमेन्ट बैंक र त्यसअघि पश्चिमाञ्चल डेभलपमेन्ट बैंक गाभिएको थियो । 

टुरिजमसँगको मर्जरपछि मेगा बैंक पुँजीका हिसाबले देशकै दोस्रो ठूलो वाणिज्य बैंक बन्न सफल भएको छ । आर्थिक बर्ष २०७४/७५ को बोनस शेयर बाँडफाँडपछि चुक्ता पुँजी १० अर्ब ३८ करोड रुपैँया पुग्ने मेगा बैंककी सिइओ अनुपमा खुञ्जेलीले जानकारी दिइन् ।

चालु आर्थिक बर्षको पहिलो त्रैमासिक अवधिसम्म बैंकको कुल निक्षेप ३ अर्ब १५ करोड रुपैँयाले बृद्धि भई ६६ अर्ब १२ करोड रुपैयाँ पुगेको छ । 

यसैगरी, खुद कर्जा ५ अर्ब १३ करोड रुपैयाँ बृद्धि भई ६२ अर्ब २५ करोड रुपैयाँ पुगेको छ । गत त्रैमासिकमा बैंकले ४० करोड ४६ लाख रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ । 

कृषि, पर्यटन, जलविद्युत र भौतिक पूर्वाधार परियोजना लगायतका क्षेत्रमा लगानी विस्तार गरी ‘हलोदेखि हाइड्रोसम्म’को नारालाई सार्थक बनाउन लागिपरेको सिइओ खुञ्जेलीले जानकारी दिइन । ‘अन्य समकक्षी बैंक भन्दा मेगा बैंकलाई पृथक, सबल, प्रतिस्पर्धी, प्रभावकारी र सफल बनाउँदै अघि बढ्ने तयारीमा छौं ।’– सिइओ खुञ्जेलीले भनिन् ।

उनका अनुसार, नेपाल सरकारको नीति बमोजिम बैंकिङ सेवा नपुगेका ग्रामीण भेगका जनतामा बैंकिङ पहुँचको विस्तार गर्ने उद्देश्यले बैंकले गत आर्थिक बर्षमा १७ वटा गाउँपालिकामा मेगाले आफ्नो शाखा विस्तार गरिसकेको छ । अहिले उपत्यका र उपत्यकाबाहिर गरी मेगा बैंकका १०२ वटा शाखा कार्यालयहरु, १८ वटा एक्सटेन्सन काउन्टरहरु, ८१ वटा एटीएम मेशिन तथा ११९ वटा शाखारहित बैंकिङ केन्द्रहरु रहेका छन् । 

चालु आर्थिक बर्षमा ७२ वटा शाखारहित सेवा विस्तार गरी दूरदराजका सर्वसाधारणमा बैंकिङ पहुँच बढाउने मेगा बैंकको योजना छ । 

साथै बैंकको सेवाको गुणस्तरलाई सुनिश्चित गर्न बैंकले आईएसओ सर्टिफिकेसन कार्यलाई अघि बढाउने र बैंकको क्रेडिट रेटिङको कार्य पनि यसै वर्षमा सम्पन्न गर्ने योजनामा बैंक रहेको छ । सेवाको गुणस्तरलाई थप मजबुद बनाउन बैंकले हालै कस्टमर केयर अफिसर्सहरु पनि परिचालन गरेको छ ।    

सिइओ खुञ्जेलीका अनुसार, बैंकको आन्तरिक जीवनलाई मजबुत एवं सहयोगात्मक र भरपर्दो बनाउन मेगा बैंकका कर्मचारीका लागि ‘मेगा लर्निङ एण्ड डेभलपमेन्ट सेन्टर’ सुरुवात गरिएको छ । 

यसैगरी, ‘मेगा रेमीट’को सञ्जाललाई संसारका बिभिन्न मुलुकमा विस्तार गर्ने उद्देश्यले यसबर्षबाट दक्षिण कोरियामा मेगा बैंकको प्रतिनिधि राखी सेवा सुरु भइसकेको छ भने जापान लगायतका देशमा पनि मेगा बैंकका रेमीट प्रतिनिधि राख्ने तयारी भइरहेको छ । 

मेगा बैंकले ग्राहकको चाहना र आधुनिक प्रविधिलाई मध्यनजर राख्दै अत्याधुनिक डिजिटल सूचना प्रविधि प्रणाली संचालनमा ल्याएको छ । जसले कारोबार सुरक्षित हुनुका साथै ग्राहकमैत्री सेवा विस्तार गर्न मद्दत पुग्ने बैंकको विश्वास छ ।