काठमाण्डौ । देशका वाणिज्य बैंकमध्ये महिलाले नेतृत्व गरेको एक मात्र बैंक, मेगा बैंक लिमीटेडले चालु आर्थिक वर्षको दोश्रो त्रैमासमा अधिकांश वित्तीय सूचकमा छलाङ मारेको छ । 

यो बैंकले फ्री प्रफिट(वितरणयोग्य मुनाफा), नेट प्रफिट(खूद नाफा) र अपरेटिङ प्रफिट(संचालन मुनाफा)तर्फ लोभलाग्दो प्रगति गरेको हो । 

अघिल्लो वर्ष यही अवधिमा ३९ करोड ३६ लाखमा सीमित फ्री प्रफिटतर्फ ३८.९६ प्रतिशतको प्रगति गर्दै यो वर्ष ५४ करोड ७० लाख पुर्याएको छ । 

अघिल्लो वर्ष ३९ करोड ३६ लाखमा सीमित खूद नाफा ८५.९६ प्रतिशतले वृद्धि गरी यो वर्ष ७३ करोड २० लाखको उचाई चुमाएको छ भने अघिल्लो वर्ष ५५ करोड ३९ लाखमा सीमित संचालन मुनाफा ८६.६९ प्रतिशतले बढी १ अर्ब ३ करोड माथिको उचाईमा पुगेको छ । 

व्यवसाय बिस्तारमा बैंक व्यवस्थापन आक्रामक बनेका कारण खूद ब्याज आम्दानीमा बैंकले ११०.३३ प्रतिशतको फड्को हानेको छ । अघिल्लो वर्षको यही अवधिमा ८४ करोड ६३ लाखमा सीमित यस्तो आम्दानी बढेर यो वर्ष १ अर्ब ७८ करोडको उचाईमा पुगेको हो । 

समीक्षा अवधिमा बैंकले निक्षेप र कर्जा बिस्तारमा उल्लेख्य प्रगति गरेको देखिएको छ । यो अवधिमा ७० अर्ब ८५ करोड निक्षेप संकलन गरी ६५ अर्ब ८४ करोड कर्जा परिचालन गरेको छ । अघिल्लो वर्षको तुलनामा निक्षेप ५५.४८ प्रतिशतले बढेको छ भने कर्जा बिस्तारतर्फ ६१.५२ प्रतिशतको प्रगति हासिल भएको छ । 

बैंकले १ अर्ब ६६ करोडमा सीमित रिजर्बकोषको आकारलाई थप बढाई २ अर्ब ३१ करोड माथि पुर्याएको छ ।

अघिल्लो वर्षको तुलनामा चुक्तापूँजी ४०.८३ प्रतिशतले बढाए पनि नाफामा उल्लेख्य प्रगति भएका कारण बैंकको वार्षिकीकृत प्रतिसेयर आम्दानी बढेर १४.०९ रुपैयाँ पुगेको छ । यो भनेको अघिल्लो वर्षको यही अवधिको तुलनामा ३२.०५ प्रतिशतले बढी हो । 

मेगा बैंकमा खराब कर्जाको अनुपात भने केही बढेको छ । अघिल्लो वर्ष यो अवधिमण ०.९८ प्रतिशत रहेको यस्तो कर्जाको अनुपात बढेर यो वर्ष १.२१ प्रतिशत पुगेको हो । 

समीक्षा अवधिमा बैंकको प्रतिसेयर नेटवर्थ १२२.२६ रुपैयाँ, मूल्य आम्दानी १२.२४ गुणा र बेस रेट १०.८३ प्रतिशत कायम भएको छ ।