-भक्तराज रसाइली
काठमाण्डौ । बैंकिङ्ग करिअर आकर्षक बन्दै गएको छ । बित्तीय पहुँच वृद्धिको सरकारी नीतिलाई सहयोग गर्न बैंक तथा वित्तीय संस्थाहरु गाउँ–गाउँमा शाखा खोल्ने अभियानमा रहँदा देशैभर बग्रेल्ती संख्यामा बैंकिङ क्षेत्रमा रोजगारीको निकै ठूलो अवसर पनि सिर्जना भइरहेको छ । 

बैंकिङ पहुँच विस्तारदेखि केही फरक ढंगले बैंकिङ गर्ने बैंकहरुको भीडमा मेगा बैंक सुरुवातदेखि नै केही पृथक देखिन्छ । सुरुवातका दिनदेखि नै हलोदेखि हाइड्रोसम्मको नारा लिएको यो बैंकको त्यसबेलाको त्यो अर्थपूर्ण नारा अहिले झनै सान्दर्भिक बन्दै गएको छ । अर्थात, बैंकहरुले साना कृषि कर्जादेखि ठूला हाइड्रोसम्म नै लगानी गर्ने वातावरण बनिरहेको छ ।  

‘क’ वर्गका वाणिज्य बैंकहरुमध्ये सबैभन्दा धेरै प्रमोटरहरु रहेको बैंकका रुपमा समेत चिनिएको मेगा बैंकको मैतीदेवीस्थित शाखा महिला कर्मचारीहरुले मात्र हाँकेको एक उदाहरणीय शाखा हो । जहाँको नेतृत्व अमी श्रेष्ठले गरिरहेकी छिन् । उनले नेतृत्व गरेको  मेगा बैंक मैतीदेवी शाखामा कार्यालय सहयोगीदेखि शाखा प्रबन्धकसम्म १० जना महिला मात्र छन् ।

निजी क्षेत्रको वाणिज्य बैंकको प्रमुख कार्यकारी अधिकृतको रुपमा पहिलो महिलाको रुपमा उदायकी अनुपमा खुञ्जेलीको अवधारणामा मैतीदेवी शाखालाई केही पृथक रुपमा संचालन गर्न खोजिएको बैंक बताउँछ । 

मैतीदेवी शाखा प्रबन्धक अमी विगत १ दशकदेखि बैंकिङ क्षेत्रमा अनवरत लागिरहेकी एक पात्र हुन् । काठमाण्डौ १३ बाफलकी स्थायीबासी अमीले स्नातकोत्तरसम्मको अध्ययन पूरा गरी ०६५ सालबाट प्रस्तावित क वर्गको मेगा बैंकबाट आफ्नो बैंकिङ करिअर सुरु गरेकी हुन् । मेगा बैंकले ०६७ बाट औपचारिक रुपमा कारोबार थालेको थियो ।

पढाई सकेर केही समय उनले प्लस टूलाई अध्यापन समेत गराएकी थिइन् । 

विना श्रेष्ठ र विनोद श्रेष्ठकी सन्तान अमीका बुबा मात्र होइन सासूससूरा समेत शिक्षक हुन् । पढाई सकेपछिका सुरुवाती दिनहरुमा बुबाको बिडो थाम्ने हुटहुटीले उनलाई शिक्षण पेशामा लगे पनि बैंकिङ क्षेत्रमा राम्रो करिअर देखेर यता लागेको बिजशालासँगको एक भेटमा उनले बताइन् ।

मेगा बैंकमा उनले एक्सकुएटिभ असिस्टेन्ट टू सिइओ, रेमिट्यान्स अपरेटर इञ्चार्ज, क्रेडिट रिक्स एनालिस्ट हुँदै हाल ब्राञ्च मेनेजरको भूमिका निर्वाह गरिरहेकी छिन् ।

उनी बैंकमा प्रवेश गर्दा सीइओको रुपमा अनिलकेशरी शाह कार्यरत थिए र आफू असिस्टेन्ट भई शाहसँग काम सिक्दा निकै सहज महसुस भएको र शाहबाट धेरै कुरा सिक्ने अवसर पाएको समेत उनले सुनाइन् ।

मेगा बैंककै पहिलो महिला शाखाको प्रबन्धक भएकोमा आफूलाई खासै फरक अनुभव नभएको उनले बताइन् । तर, ग्राहकहरुले सबै महिला कर्मचारीले बैंक चलाएको देखेर व्यक्त गर्ने प्रतिक्रियाले आफू उत्साहित हुने गरेको सुनाइन् ।

श्रेष्ठको कमाण्डमा मैतीदेवी मन्दिर सरसफाइ गरेर बैंकलाई सामाजिक उत्तरदायित्वमा अग्रता दिएको र मैतीदेवीको सामाजिक क्लबलाई डस्बिन सहयोग गरेको, एसइइका विद्यार्थीहरुलाई नगद छात्रवृत्ति पनि प्रदान गर्ने गरेको लगायतका सामाजिक अभियानमा बैंक र आफ्नो सक्रिय भूमिकालाई कायमै राखेको अमीको भनाई छ । 

प्रत्येक साउनमा दिदीबहिनीहरुलाई मेहेन्दी निशुल्क लगाइदिएर महिलाप्रति बैंकको सामीप्यता बढाएको उनको भनाई छ । आफूले आगामी दिनमा स्थानीयसँग हातेमालो गरेर यो शाखालाई अझ उत्कृष्ट र उदाहरणीय बनाउने योजना बनाएको उनको भनाई छ ।

सोही बैंकमा विगत ३ वर्षदेखि असिस्टेन्ट लेभल ३ मा कार्यरत हेमा कार्कीका अनुसार महिला प्रबन्धक भएकै कारणले काम गर्न सहज हुनुको साथै कारोबार रकम पनि बढेकोमा खुशी देखिन्छिन् । काम गर्ने वातावरण मैत्रीपूर्ण भएकोमा प्रबन्धकको ग्राहकसँग पेश भई डिल गर्ने क्षमताबाट आफू पनि प्रभावित भएको उनको भनाई छ ।

सोही शाखामा अपरेशन इञ्चार्ज पदमा कार्यरत शान्ता मूल्मी भन्छिन्–‘अमि म्याम सहयोगी हुनुका साथमा समस्या बुझ्ने हुनाले खुशी लाग्छ । आफ्ना कुराहरु सेयर गर्न पाउँदा काम गर्दा पनि रमाइलो लाग्छ । ग्राहकहरुले समेत महिलाहरुले चलाएको शाखालाई दर्शाउनुभएको माया देख्दा अझ बढी कृतज्ञ छौ।’

बैंकको मैतीदेवी शाखामा असिस्टेन्ट २ लेभलमा २ वर्षदेखि कार्यरत रचना आचार्यलाई भने एकदमै फरक लाग्ने गरेको अनुभव छ । स–साना समस्याहरु सेयर गर्न महिला हाकिम हुँदा निकै सहज हुने उनको बुझाई छ ।

सोही शाखामा विगत ७ वर्षदेखि कार्यालय सहयोगीका रुपमा कार्यरत उर्मिला राउतले महिला कर्मचारीहरुबीच नै काम गर्नुपर्ने भएकोले धेरै कुरा सहज भएको, कतिपय भावना समेत साट्न मिल्ने भएकोले अफिसको काममा पनि सहजता थपिएको बताइन् । समस्या र व्यक्तिगत कुराहरु सेयर गर्न व्यवस्थापकसङ्ग सजिलो भएको उनको अनुभव छ ।

यो शाखामा आउने महिलाहरुलाई बैंकले सेवामा विशेष सहुलियत र सहजताको व्यवस्था समेत गरिदिने गरेको छ । यहाँका कर्मचारी आफैं पनि महिला ग्राहक आउँदा उनीहरुको सहजताका लागि खटिने गर्छन् ।

एकादुई पुरुषको हेराइ र सोचाइमा केही फरक देखाउने भए तापनि सबै ग्राहकको साथले गर्दा काममा उत्साह थपिएको यहाँका कर्मचारीहरुको भनाई छ।

छेउछाउमा थुप्रै सहकारी र बैंकका शाखाहरुको चूनौतिको सामना गर्दै महिलाहरुले चलाएको यो शाखा अरुको तुलनामा निकै राम्रो गतिमा अगाडि बढिरहेको कर्मचारी दाबी गर्छन् । 

उक्त शाखाले संकलन गर्ने बचत र ऋण प्रबाहमा महिलाको उपस्थिति बढ्दै गएको त्यहाँका कर्मचारी बताउँछन् ।

स्टाफको राम्रो टीम, सहयोगी भावना र साझा उद्देश्यले यो शाखा महिलाले नै चलाएका भए तापनि अरु शाखा जत्तिकै बिजनेस ग्रोथ रहेको अमी बताउँछिन् ।

महिलाहरु पनि बैंकिङ्ग  च्यानलमा आई स्रोत परिचालन गरेर मात्र  वृत्ति विकास हुनेमा यहाँका कर्मचारीको जोड छ ।