काठमाण्डौ । मेगा बैंक लिमीटेडले यो वर्ष सेयरधनीलाई बढीमा १० प्रतिशतसम्म लाभांश वितरण गर्नसक्ने देखिएको छ । 

यो बैंकले चालु आर्थिक वर्षको तेश्रो त्रैमाससम्म ७६ करोड ७४ लाख वितरणयोग्य मुनाफा आर्जन गरेको हो । 

मुनाफाको यो दर चौथो त्रैमाससम्म पनि कायम रहेमा र नियामकीय व्यवस्थाका लागि थप दायीत्वहरु सिर्जना नभए बैंकले यो वर्ष १ अर्ब २ करोड बढी वितरणयोग्य मुनाफा आर्जन गर्ने देखिन्छ । हाल यो बैंकको चुक्तापूँजी १० अर्ब ३८ करोड रुपैयाँ रहेको छ । यो हिसाबले बैंकले बढीमा १० प्रतिशत लाभांश बाँड्नसक्ने देखिन्छ । 

बैंकले समीक्षा अवधिमा गत वर्षको यही अवधिको तुलनामा खूद नाफा, संचालन मुनाफा, खूद ब्याज आम्दानीतर्फ छलाङ मारेको छ । 

अघिल्लो वर्ष ५२ करोड ४९ लाखमा सीमित खूद नाफालाई १३१.३३ प्रतिशतले बढाएर १ अर्ब २१ करोड पुर्याएको छ भने ७३ करोड ९२ लाखमा सीमित संचालन मुनाफालाई बढाएर १ अर्ब ७० करोडको उचाई चुमाएको छ । 

यस्तै, १ अर्ब ३० करोडमा सीमित खूद ब्याज आम्दानीतर्फ १११.६० प्रतिशतको छलाङ मारी २ अर्ब ७५ करोडको उचाई चुमाएको छ । 

समीक्षा अवधिमा बैंकले ७५ अर्ब २१ करोड निक्षेप संकलन गरी ६७ करोड ५८ लाख बढी कर्जा परिचालन गरेको छ । अघिल्लो वर्ष यही अवधिमा ६३ अर्ब ४९ करोड निक्षेप संकलन गरी ५५ अर्ब ५२ करोड कर्जा परिचालन गरेको छ । 

अघिल्लो वर्षसम्म १ अर्ब ६३ करोडमा सीमित रिजर्बको आकार बढाई १ अर्ब ९४ करोड पुर्याएको बैंकले खराब कर्जालाई भने नियन्त्रण गर्न नसकेको देखिएको छ । अघिल्लो वर्ष यही अवधिमा ०.९८ प्रतिशत रहेको यस्तो कर्जाको अनुपात बढेर यो वर्ष १.४२ प्रतिशत पुगेको हो ।

अघिल्लो वर्षको यही अवधिभन्दा केही सहज सीसीडी अनुपातमा रहेको यो बैंकले ७.६४ प्रतिशत रहेको कस्ट अफ फण्डलाई समेत घटाउन नसकेको देखिन्छ । समीक्षा अवधिमा बैंकको कस्ट अफ फण्ड ७.७३ प्रतिशत रहेको छ। 

यो अवधिमा बैंकको आधार दर घटेर १०.२ प्रतिशत कायम भएको छ भने वार्षिकीकृत प्रतिसेयर आम्दानी १२९.०४ प्रतिशतले बढेर ६.८० रुपैयाँबाट १५.५८ रुपैयाँ पुगेको छ । 

यो अवधिमा बैंकको प्रतिसेयर नेटवर्थ १२६.२० रुपैयाँ र मूल्य आम्दानी अनुपात १०.८४ गुणा कायम भएको छ ।