काठमाण्डौ । मेगा बैंक लिमीटेडको सेयर सस्तोमै खरीद गर्ने अवसर तपाईलाई पनि पर्न सक्छ, कारण यो बैंकले २ लाख १७ हजार ८ सय ९० साधारण सेयर तथा १ लाख ६८ हजार ९ सय ९२ संस्थापक सेयर लिलामीमा राखेको छ । चैत १३ गते आइतबारदेखि यी सेयरहरुको लिलामीमा आवेदन दिन(बिड गर्न) सकिनेछ । 

यो बैंकले गत साउन २७ गतेदेखि ४ बराबर १ का दरले हकप्रद सेयर निश्कासन गरेकोमा सेयरधनीले खरीद नगरेका हकप्रद लिलामीमा निकालिएको हो । 

यो लिलामीको प्रक्रिया चैत २० गतेसम्म जारी रहनेछ र लिलामीको पूर्ण नतिजा चैत २१ गते दिउँसो ३ बजे टुंगो लगाइने बताइएको छ । 

लिलामीमा सहभागी हुन चाहनेले प्रतिकित्ता न्यूनतम १ सय रुपैयाँ मूल्य राख्नैपर्नेछ । इच्छुक लगानीकर्ताले न्यूनतम १ सय कित्ता र अधिकतममा न्यूनतम कित्तामा १० ले गुणा गरेर आउने संख्याको सेयरका लागि आवेदन दिन सक्नेछन् । 

मेगाको नबिकेको हकप्रद लिलामी प्रक्रियामा नवील इन्भेष्टमेन्ट बैकिङ लिमीटेड बिक्री प्रबन्धक तोकिएको छ । 

बैंकले इच्छुक लगानीकर्तालाई चैत २० गते बजेभित्र बिक्री प्रबन्धकको काठमाण्डौ, नक्सालस्थित कार्यालय तथा मेगा बैंकको कमलादिस्थित कार्यालयमा गएर बिड गर्न आह्वान गरेको छ । 

लिलामीमा बिड गर्न चाहने लगानीकर्ताले नबील इन्भेष्मेन्ट बैकिङको मेगा बैंकमा रहेको ००१००१०२४६२६९ नम्बरको बचत खातामा बिड गर्ने सेयरको कुल रकम जम्मा गर्न सकिने सुविधा उपलब्ध गराइएको छ । 

मेगा बैंक लिमीटेडले चालुु आर्थिक वर्षको दोश्रो त्रैमाससम्म ३७  करोड ९ लाख खूद नाफा आर्जन गरेको छ । बिक्री नभएको सेयर पर्नेहरुले बैंकको १३.२५ प्रतिशत बोनस सेयर नपाउने समेत प्रष्ट पारिएको छ । 

मेगा बैंकले हालै निश्कासन गरेको २५ प्रतिशत हकप्रदपछि चुक्तापुँजी ४ अर्ब १ करोड पुुग्नेछ । १३.२५ प्रतिशत बोनस सेयर र त्यसपछि ६५ प्रतिशत हकप्रद निश्कासनपछि बैंकको चुक्तापूँजी ७ अर्ब ५६ करोडको उचाईमा पुुग्नेछ । मेगा बैंक र टुरिजम डेभलपमेन्ट बैंकबीचको मर्जर समेत प्रक्रियामा रहेको छ । यी दुुई बैंक मर्ज भएपछि  चुक्तापूँजी ९ अर्ब ४८ करोडको उचाईमा पुुग्नेछ ।