काठमाण्डौ । मेगा बैंक लिमीटेडका संचालक समिति अध्यक्ष भोजबहादुर शाहले नेपालको बैंकिङ इतिहासमा आफूहरुले ‘ब्रेक थ्रु’ गर्न लागेको दाबी गरेका छन् । 

बिजशालासँग कुरा गर्दै अध्यक्ष शाहले आफूहरुले विगतदेखि नै ‘ब्रेक थ्रु’ गर्दै आएको र बिग मर्जरको विषयमा समेत ‘ब्रेक थ्रु’ हुने गरी छलफल अगाडि बढेको दाबी गरेका हुन् । 

‘हामीले ५–७ वटा बैंकसँग एकैपटक मर्ज गर्ने गरी छलफल अगाडि बढाएका छौ ।’ उनले भने–‘छलफल जारी छ र सकारात्मक दिशामा छ । यी छलफल निश्कर्षमा पुगे भने हामी बैंकिङ इतिहासमै ब्रेक थ्रु गरिदिनेछौ ।’ 

उनले विगतमा तत्कालीन एमाले र माओवादी केन्द्रबीच एकता होला भनेर कसैले नसोचेको उदाहरण दिंदै भने–‘हामी हरेक संभावनामा हामी छलफल गर्दैछौ । जुन संभावनाको बीचमा मेगाले अवसर पाउँछ, त्यसैमा हामी जान्छौ । म चाहि सामान्य ढंगले जानुपर्छ भन्ने सोंचको मान्छे होइन, नेतृत्व भनेको त ब्रेक थ्रु गर्ने खालको हुनुपर्छ भन्ने मेरो मान्यता हो । हिजो कसले सोचेको थियो र दुई पार्टीबीच एकीकरण हुन्छ भनेर ? नर्मल ढंगले नर्मल मान्छेले गर्छन्, नेतृत्वले त ब्रेक थ्रु गर्नुपर्छ ।’ 

उनले कुन–कुन बैंकसँग छलफल अगाडि बढिरहेको छ भन्ने कुरा चाहि खुलाउन चाहेनन् । तर, ती सबै वाणिज्य बैंक नै रहेका बताए । 

मर्जरमा ब्रेक थ्रु गर्ने लगायतका विषयमा निश्कर्र्ष निकाल्न बुधबार मेगा बैंकको रणनीतिक कमिटीको बैठक बस्ने समेत उनले जानकारी दिए । 
हामीले उनलाई ब्रेक थ्रुको खबर कहिले सुन्न पाइन्छ त भनेर पनि सोधेका थियौं । प्रतिउत्तरमा उनले भने–‘यसका लागि समय लाग्छ । दुवै पक्षको कुरा मिल्नुपर्यो नि । एउटा कन्जरभेटिभ टाइपको भयो र अर्को ब्रेक थ्रु गर्ने खालको भएर पनि हुँदैन । दुवैको गति, सोंच मिल्नुपर्छ ।

को–कोसँग भइरहेको हो छलफल ?
अध्यक्ष शाहले छलफल भइरहेका चारवटा बैंकको नाम नबताए पनि स्रोतहरुले भने त्यस्तो छलफल ग्लोबल आइएमई बैंक, जनता बैंक, सिभिल बैंक र सेञ्चुरी बैंकसँग भइरहेको दाबी गरेका छन् । 

तत्कालीन एमालेको विचारमा सहमत हुनेहरुले खोलेका बैंकहरुबीच मर्जरको प्रवल संभावना रहेको बताइन्छ । जनता बैंक, ग्लोबल आइएमई बैंक, मेगा बैंक, सिभिल बैंक एमालेहरुले चलाएको बैंकको रुपमा चिनिन्छ । सेञ्चुरीमा समेत एमाले समर्थितहरुको बाहुल्यता रहेको स्रोत दाबी गर्छ । आइडोलोजी मिल्ने भएकै कारण समेत यी पाँचवटा बैंकबीच जुनसुकै बेला मर्जरको सहमति हुनसक्ने संभावना रहेको छ । 

हामीले यो विषयमा मेगा बैंकका अध्यक्ष भोजबहादुर शाहलाई राजनीतिक लाइन मिलेका बैंकहरुबीच नै त मर्जरको छलफल चलिरहेको होला नि त ? भन्ने प्रश्न गरेका थियौ । शाहले जवाफमा भने–‘मर्जर भनेकै कुनै न कुनै ढंगले लाइक माइन्डेडबीच हुने त हो नि । चिन्दै नचिनेको समूहबीच त व्यापारीको जस्तो किनबेच हुने हो । हामी त्यसखालका मान्छे परेनौ ।’