काठमाण्डौ । गण्डकी विकास बैंक लिमिटेडलाई प्राप्ति गर्ने सम्झौता गरेको मेगा बैंक नेपाल लिमिटेडले गत आर्थिक वर्ष २०७५/७६ को मुनाफाबाट आफ्ना सेयरधनीहरुलाई लाभांश वितरणको प्रस्ताव गरेको छ । अर्कोतिर मेगा बैंकमा विलय हुन लागेको गण्डकी विकास बैंकले भने आफ्नो सेयर कारोबार रोक्का गरेको छ । 

मेगा बैंकको सञ्चालक समितिको हिजो बुधबार सम्पन्न बैठकले आफ्ना सेयरधनीहरुलाई गत वर्षको मुनाफाबाट ११.७५ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । बैंकले चुक्ता पुँजी १० अर्ब ३८ करोड ८६ लाख २१ हजार ४५३.७२ रुपैयाँको ११.७५ प्रतिशतले हुन आउने १ अर्ब २२ करोड ६ लाख ६३ हजार २०.८१ रुपैयाँ नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ ।

प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकबाट स्वीकृति प्राप्त भएपछि बैंकको आगामी वार्षिक साधारणसभाबाट पारित गरी वितरण गरिने बैंकले जनाएको छ ।

यसैबीच मेगा बैंकमा विलय हुन लागेको गण्डकी विकास बैंकको सेयर कारोबार बिहीबारदेखि दोस्रो बजारमा रोक्का गरिएको छ । बैंकको अनुरोधमा नेप्सेले सेयर कारोबार रोक्का गरेको हो । नेप्सेमा गण्डकी विकास बैंकको २ करोड ७५ लाख कित्ता सेयर सूचीकृत छ ।

मेगा बैंकले गण्डकी विकास बैंकलाई बुधबार प्राप्ति गर्ने सम्झौता गरेको थियो ।