काठमाण्डौ । मेगा बैंक नेपाल लिमिटेडले शेयरधनीलाई ११ दशमलव ७५ प्रतिशत नगद लाभांश पारित गरेको छ । 

काठमाडौँमा शुक्रबार सम्पन्न मेगा बैंकको नवौँ बार्षिक साधारण सभाले गत आर्थिक वर्ष २०७५÷०७६ को मुनाफाबाट शेयरधनीलाई ११.७५ प्रतिशत नगद लाभांश पारित गरेको हो । आर्थिक बर्ष २०७५÷०७६ सम्मको सञ्चित मुनाफा तथा वितरणयोग्य अन्य कोषबाट हाल कायम चुक्ता पुँजी १० अर्ब ३८ करोड ८६ लाख २१ हजार ४ सय ५४ रुपैँयाको ११ दशमलव ७५ प्रतिशतले हुन आउने १ अर्ब २२ करोड ६ लाख ६३ हजार २० रुपैँया ८१ पैसालाई नगद लाभांश स्वरुप शेयरधनीलाई वितरणका लागि पारित गरेको अध्यक्ष भोजबहादुर शाहले जानकारी दिए । 

साधारण सभामा अध्यक्ष शाहले प्रचलित ऐन तथा कानुनको अधीनमा रही वैदेशिक रणनीतिक साझेदारको पहिचान गर्ने सम्बन्धमा आवश्यक कार्य गर्नका लागि प्रस्ताव पेश गरे । सो सम्बन्धी प्रस्तावलाई पारित गर्दै साधारण सभाले सञ्चालक समितिलाई अख्तियारी प्रदान गरेको छ । अध्यक्ष शाहले मेगा बैंकलाई देशकै अग्रणी र अलगै पहिचान सहितको बैंक बनाउने उद्देश्यले मर्जर तथा एक्वीजिशनलाई पनि प्राथमिकता दिएको साधारण सभालाई जानकारी दिए । 

‘आफ्नो पूँजी तथा व्यवसायको आकारमा वृद्धि गर्दै उत्कृष्ट वाणिज्य बैंकको रुपमा स्थापित गर्ने उद्देश्यलाई बढावा दिन पोखरामा केन्द्रिय कार्यालय रही राष्ट्रिय स्तरको “ख” वर्गको वित्तीय संस्थाको रुपमा सञ्चालित गण्डकी विकास बैंक लिमिटेडलाई प्राप्ति (एक्विजिशन) गर्न असोज ८ गते समझदारीपत्रमा हस्ताक्षर गरी सैद्दान्तिक सहमति समेत गरिसकेका छौँ । उक्त प्राप्ति प्रक्रिया सम्बन्धी कार्यहरु सम्पन्न भएपश्चात स्वीकृतिको लागि साधारण सभामा प्रस्ताव पेश गरिनेछ’, अध्यक्ष शाहले भने ,‘गण्डकी विकास बैंक प्राप्तिपश्चात मेगा बैंकको शाखा सञ्जाल देशव्यापीरुपमा २१० वटा भन्दा बढी रहन गई व्यवसायको आकारको आधारमा हालको १० ठूला वाणिज्य बैंक मध्येको बैंकको रुपमा मेगा बैंक स्थापित हुन सफल हुनेछ ।’ स्थापनाको एक दशक नबित्दै समकालीन बैंकहरुमा उत्कृष्ट बन्न सफल भएकोमा गौरवान्वित भएको अध्यक्ष शाहले बताए । 

साधारण सभामा सिइओ अनुपमा खुञ्जेलीले ग्राहकहरुको विश्वास जित्दै अघि बढ्न सफल भएकाले बैंकको सञ्जाल, व्यवसाय र मुनाफाको आकारमा उल्लेख्य प्रगति भएको बताइन् । स्थापनाकालदेखि नै गरिबीको रेखामुनि रहेका र मध्यमवर्गीय नेपालीहरुलाई प्राथमिकता दिँदै नवीनतम र अत्याधुनिक बैंकिङ सुविधा प्रदान गर्दै आएको सीइओ खुजेलीले दाबीसमेत गरिन् । राष्ट्रिय तथा अन्तर्राष्ट्रिय रुपमा प्रतिष्ठित बैंकको छवि बनाउन सफल भएकै कारण बैंकले यस बर्ष  साना तथा मझौला व्यवसाय र लघुवित्त कर्जा गरी दुई विधामा उत्कृष्ट बैंकको रुपमा अन्तर्राष्ट्रियस्तरको ‘एशिया मनी अवार्ड’ जित्न सफल भएको सिइओ खुञ्जेलीले जानकारी दिइन् । बैंकको उपलब्धिका लागि सबै सरोकारवाला, संस्थापक, सर्वसाधारण शेयरधनी, नियामक निकाय र ग्राहकवर्गलाई उनले धन्यवाद दिएकी छिन् ।