काठमाण्डौ। मेगा बैंक नेपाल लिमिटेडको बुधबार सम्पन्न विशेष साधारणसभाले गण्डकी विकास बैंकलाई प्राप्ति गर्ने प्रस्ताव पारित गरेको छ।

काठमाण्डौमा भएको सभामा मेगा बैंक सञ्चालक समितिका अध्यक्ष भोजबहादुर शाहद्वारा गण्डकी विकास बैंकलाई प्राप्ति गर्नका लागि प्रस्तुत प्रस्ताव पारित भएको हो। मेगा बैंक र गण्डकी विकास बैंकको सेयर आदानप्रदान अनुपात १ः१ रहेको छ। 

यो प्राप्तिपश्चात मेगा बैंकको पुँजी, व्यवसायको आकारका साथै शाखा सञ्चालनमा बृहत वृद्धि भई देशकै एउटा ठूलो ‘क’ वर्गको वाणिज्य बैंकका रुपमा स्थापित हुने मेगा बैंकका अध्यक्ष शाहले बताए। 

सभामा मेगा बैंकका प्रमुख कार्यकारी अधिकृत अनुपमा खुञ्जेलीले उत्कृष्ट व्यवसाय गरिरहेको गण्डकी विकास बैंकलाई प्राप्ति गरेपछि मेगा बैंकको स्तर अभैm बढ्ने बताइन्। ग्राहकको विश्वास जित्दै प्रतिष्ठित ‘बैंक अफ दि एयर’ पुरस्कारबाट समेत सम्मानित भएको स्मरण गर्दै उनले मेगा बैंकको शाखा सञ्जाल प्राप्तिपश्चात ५८ वटा जिल्लामा फैलने जानकारी दिइन्। 

यसैगरी देशका २७ वटा ‘क’ वर्गका वाणिज्य बैंकमध्ये मेगा बैंक निक्षेपका आधारमा ११ औं स्थान, कर्जाका आधारमा १२ औं र मुनाफाका आधारमा ११ औं स्थानमा रहने खुञ्जेलीले जानकारी दिइन्। उनका अनुसार गण्डकीलाई प्राप्ति गरेपछि मेगा बैंकको चुक्ता पुँजी १३ अर्ब १३ करोड हुनेछ भने निक्षेप १ खर्ब २५ अर्बभन्दा बढी र कर्जा १ खर्ब ९ अर्बभन्दा बढी हुने भएको छ। 

यसैगरी मेगा बैंकको ग्राहक संख्या करिब ११ लाख हुनेछ भने शाखा संख्या २०६ वटा, एक्सटेन्सन काउन्टर ३० वटा, एटीएम १४२ वटा हुनेछन्। 

यसैबीच पोखरामा केन्द्रीय कार्यालय रहेको गण्डकी विकास बैंकको पनि बुधबारकै दिन सम्पन्न विशेष साधारणसभाले समेत गण्डकीलाई मेगा बैंकले प्राप्ति गर्न स्वीकृति प्रदान गरेको छ। बैंक सञ्चालक समितिका अध्यक्ष सुशील गौचनद्वारा प्रस्तुत यस प्राप्तिसम्बन्धी प्रस्ताव सभाले पारित गरेको हो। ९६ वटा शाखा सञ्जाल रहेको गण्डकी विकास बैंकको चुक्ता पुँजी २ अर्ब ७५ करोड रहेको छ। 

दुबै बैंकको विशेष साधारणसभाले स्वीकृति दिएसँगै मेगा बैंकलाई गण्डकी विकास बैंक प्राप्ति गर्न बाटो खुलेको छ। यसै आर्थिक वर्षभित्रमा गण्डकी विकास बैंकलाई प्राप्ति गरी संयुक्त कारोबार प्रारम्भ गर्ने गरी तयारीहरु भइरहेको मेगा बैंकका अध्यक्ष शाहले जानकारी दिए।