काठमाण्डौ । मेगा बैंक नेपाल लिमिटेडको सातौं साधारण सभाले नयाँ संचालक समिति चयन गरेको छ । 

मेगा बैंकको शुक्रबार राति काठमाण्डौमा सम्पन्न साधारणसभाले आगामी चार वर्षका लागि ६ सदस्यीय नयाँ संचालक समिति चयन गरेको हो । 

साधारणसभाबाट संस्थापक शेयरधनीका तर्फबाट गोपाल खनाल, मदनकुमार आचार्य र भोजबहादुर शाह चयन भएका छन् । यसैगरी, सर्वसाधारण शेयरधनीका तर्फबाट मुक्तिराम पाण्डे, बालकृष्ण शिवाकोटी र इन्द्रबहादुर मल्ल ठकुरी निर्वाचित भएका छन् ।

सञ्चालक मध्येबाट सर्वसम्मत रुपमा भोजबहादुर शाहलाई पुनः अध्यक्षमा चयन गरिएको छ । बैंकको अध्यक्षमा पुनः निर्वाचित भएपछि शाहले छोटो समयमै मेगा बैंक नेपालको अग्रणी बैंक बन्न सफल भएकोमा आफूलाई गर्व लागेको बताए । ग्राहक र शेयरधनीले मेगा बैंकप्रति देखाएको विश्वासप्रति धन्यवाद व्यक्त गर्दै उनले मेगा बैंकलाई अझै सुविधा सम्पन्न र बैंकिङ सुविधाबाट बञ्चित विपन्नवर्गको पहुँचमा पुर्याउने बताए ।

यसैगरी, मेगा बैंककी सिइओ अनुपमा खुञ्जेलीले अब मेगा बैंकले रफ्तार लिने बताइन । मेगा बैंकले छोटो समयमै ग्राहकहरुको विश्वास आर्जन गर्न सफल भएको भन्दै उनले आकर्षक सुविधाहरुसहित मेगा बैंकलाई नयाँ ढंगले अघि बढाउने प्रतिबद्धता व्यक्त गरिन्।

मेगा बैंकले स्थापनाको आठौं वर्षमा ९९ वटा शाखा विस्तार गरेको छ भने टुरिजम डेभलपमेन्ट बैंक र पश्चिमाञ्चल विकास बैंकलाई आफूमा गाभिसकेको छ । मेगा बैंकको देशभर १४ एक्सटेन्सन काउन्टर, ११९ वटा शाखारहित बैंकिङ सेवा, २ हजार भन्दा बढी मेगा रेमीट सञ्जाल र ७४ वटा एटीएम छन् ।