काठमाण्डौ । सीडीएस एन्ड क्लियरिङ लिमिटेड (सीडीएससी) ले भर्खरै सार्वजनिक गरेको ‘मेरो सेयर’ एपमा फिडब्याक प्राप्त गरिसकेपछि मात्र आस्वा सु्विधा पनि उपलब्ध हुने भएको छ।

फिडब्याकका आधारमा एपलाई संशोधन गर्दै जाने र आईपीओ हकप्रद सेयर आवेदन गर्न माई आस्वा सुविधा पनि समावेश गर्ने सीडीएससीको भनाइ छ। 

हालै सञ्चालनमा आइरहेको मेरो सेयर एपमा माई आस्वा सुविधा छैन। माई आस्वाबाट प्रयोगकर्ताले आईपीओ, एफपीओ, हकप्रद सेयर आवेदन गर्न मिलिरहेकोमा एपमा भने उपर्युक्त सुविधा समावेश छैन।

मेरो सेयर एप हाल फिडब्याक लिनका लागिमात्र एन्ड्रोइड प्रयोगकर्ताका लागि गुगल प्लेस्टोरमा राखिएको सीडीएससीले जनाएको छ। एप राम्रो ढंगले सञ्चालन भएपछि भने अलिक समयपश्चात एप्पलको आईओएसबाट पनि डाउनलोड गर्ने सुविधा ल्याउने सीडीएससीको योजना छ। 

हाल प्लेस्टोरमा रहेको यो एपबाट सामान्य सेयरको विवरण हेर्न, पोर्टफोलियो हेर्न ईडीआइएस र भारित औसत लागत गणना गर्ने सुविधाहरु रहेको छ।

मेरो सेयर एपमा केही सुधार गर्न परेमा सुझाव वा प्रतिक्रियाका लागि सपोर्ट एट द रेट सीडीएससी डट कम डट एनपीमा ई–मेल गर्न आग्रह गरेको छ।