काठमाण्डौ । मैलुङ खोला जलविद्युत कम्पनी लिमीटेडले सर्वसाधारणका लागि जारी गर्न लागेको ७ करोड ३६ लाख भन्दा बढी रुपैयाँको आइपीओलाई इक्रा नेपालले भनेगे्रड फाइभ(५)को ग्रेडिङ्ग प्रदान गरेको छ। 

यसको अर्थ कम्पनीको अवस्था औसत भन्दा कमजोर छ भन्ने हो । धितोपत्र बोर्डले ग्रेड फोरसम्मका कम्पनीले मात्र आइपीओ जारी गर्न पाउने गरी धितोपत्रको सार्वजनिक निश्कासन नियमावली संसोधन गरिसकेको छ । तर, यो कम्पनीले आइपीओ निश्कासनका लागि अनुमति भने नियमावली संसोधन भन्दा अगाडि मागेकोले फाइभ ग्रेडिङ्गमै पनि आइपीओ निश्कासन गर्न पाउनेछ ।

यो कम्पनीले एकसय रुपैयाँ अंकित मूल्यको कुल ७ लाख ३६ हजार २ सय ८६ कित्ता साधारण सेयरको प्राथमिक निश्कासन(आइपीओ)का लागि धितोपत्र बोर्डमा दिएको आवेदन अझै प्रक्रियामै रहेको छ । 

कम्पनीले यसअघि रसुवा जिल्लाका आयोजना प्रभावित क्षेत्रका बासिन्दाका लागि ३ करोड ६८ लाख बढी मूल्यको आइपीओ निश्कासन गरेको थियो । 

पूर्व प्रतिबद्धता अनुसार कम्पनीले आयोजना प्रभावित क्षेत्रका बासिन्दापछि सर्वसाधारणका लागि आइपीओ जारी गर्न लागेको हो । धितोपत्र बोर्डबाट स्वीकृति पाएपछि सर्वसाधारणका लागि आइपीओ निश्कासन हुनेछ । 

आइपीओ निश्कासन तथा बिक्री प्रबन्धकको काम सिद्धार्थ क्यापिटलले गर्नेछ । 

यो कम्पनीको जारी पूँजी ३६ करोड ८१ लख रुपैयाँ रहेको छ । आइपीओपछि कम्पनीमा संस्थापक, सर्वसाधारण र आयोजना प्रभावित क्षेत्रका बासिन्दाको सेयर स्वामित्व संरचना ७०ः२०ः१० प्रतिशत कायम हुनेछ।