-भक्तराज रसाइली
काठमाण्डौ । नेप्सेले सेयर कारोबार प्रणालीमा अन्तर्राष्ट्रिय पथ पछ्याउँदै पूर्ण अनलाइन प्रणालीअनुसार कारोबार गर्ने भएसँगै  सेयर बजारमा अनलाइन प्रणालीको तिर्खा एकाएक बढेको छ । 

विभिन्न सेयर बजारका कार्यक्रममा जाँदा पूर्ण अनलाइन कहिलेदेखि हुने हो भन्ने प्रश्नले प्राथमिकता पाउने गरेको छ । 

हाल वितरणमा आएको पहिलो खुड्किला लगइन गर्न पाउने सुविधामा मोक टेस्टिङ्गको अन्तिम तयारी भइरहेको नेप्सेले जनाएको छ । 

भदौभित्र नै आउन लागेको मोक टेस्टिङ्गमा लगानीकर्ताहरुले अहिले भन्दा धेरै सुविधा पाउनेछन् । पूर्ण अनलाइन प्रणालीको सम्पूर्ण अभ्यास गर्न पाउने बताइएको छ । 

पूर्ण अनलाइनको दोश्रो सिढीका रुपमा मोक टेस्टमा भने अझ बढी लगानीकर्ताको सहभागिता रहने नेप्सेको अपेक्षा छ ।

हाल ब्रोकरमार्फत बाँडिएको लगइनमा अर्डर राखेको मात्रै हेर्ने सुविधा रहेकोमा लगानीकर्ता सङ्गठनका केही नेताहरू गुनासो लिएर आउने गरेका नेप्से बताउँछ ।

'प्रणालीमा अभ्यस्त पार्दै लान मोक टेस्टिङ्ग गर्ने तर्खरमा नेप्से अहोरात्र खटेको छ'  नेप्सेका सीइओ चन्द्रसिंह साउद भन्छन्-'२-३ हप्ताभित्रै मोकमा लैजान्छौ ।' 

मोक टेस्टिङको सुविधा सुरुमा ५ ब्रोकरलाई उपलब्ध गराएको, तर त्यहाँबाट प्रतिक्रिया नपाउँदा समस्या भएको नेप्सेका एक कर्मचारीले बताए ।

लगानीकर्ताले आफ्नो अर्डर आफैं राख्न मिल्ने र त्यसको सेटलमेन्ट पनि हुने गर्दछ, तर यथार्थमा त्यो काल्पनिक कारोबार मात्र हो । पूर्ण अनलाइनमा अर्डर पोस्ट गर्दा वा कारोबार स्वयम् लगानीकर्ताले गर्दा दुर्घटना नहोस् भनी यो केबल पूर्वअभ्यास हो । 'लगानीकर्ताको थप सचेतनाका लागि हामीले एकपटक पुनः सबै ब्रोकरहरुलाई बोलाउनेछौ ।' नेप्सेका ती कर्मचारीले भने-'अब हामी श्रव्यदृश्य पनि वेबसाइटमा राख्नेछौ।' 

मोक टेस्टिङ्गले लगानीकर्तालाई पूर्व अभ्यास पनि हुने र प्रविधिमैत्री बन्न सघाउ पुर्याउने अपेक्षा गरिएको छ । दशैका उपहारस्वरूप आउन तरखरमा रहेको फुलफेज अनलाइनले बजारमा सकारात्मक प्रभाव र पूँजीबजार विकासका निम्ति कोशेढुङ्गा हुने यससँग सम्बन्धित विज्ञहरु बताउँछन् ।  

कारोबार प्रणालीमा इडीआइएसले मेरो सेयरबाट नै सेयर ट्रान्सफर हुने भएपछि डीआईएस चेक बोकेर ब्रोकरकोमा जानुपर्ने बाध्यता हट्नुका साथै विदेश गएका बखतमा समेत दोस्रो बजारका सेयर कारोबारीहरु लाभान्वित हुनेछन् । 

समग्रमा अनलाइन प्रणालीले  सेयर कारोबारमा सहज रूपमा र अवसरका रूपमा सुनौलो अध्याय सुरु हुने विज्ञहरु बताउँछन् ।

निकट भविष्यमा आउन लागेको फूलफेज अनलाइनमा अब बिदेश बस्ने लगानीकर्ताहरुले पनि दोश्रो बजारमा लगानी गर्न जहाँसुकैबाट पनि सहज हुनेछ । 

POA अर्थात् Power of authority ब्रोकरलाई दिएपछि ब्रोकर आफैंले लगानीकर्ताको सेयर खरीदबिक्री गर्न सक्नेछन् । ब्रोकर र करोबारीको एक किसिमको सम्झौताअनुरूप किन्न र बेच्न ब्रोकर आफैंले गर्ने पनि छन् । यसबाट लगानीकर्ताहरुले बजार घटबढ हुँदा प्राप्त हुने अवसर जुनसुकै ठाउँबाट पनि ब्रोकरलाइ सूचना दिए पश्चात् प्राप्त गर्न सक्नेछन्।