न्यूयोर्क (अमेरिका) । अमेरिकी बहुराष्ट्रिय हल्का पेय उत्पादक कम्पनी ‘पेप्सीको इङ्क’ले हल्का पेय पदार्थमा प्रयोग गरिने चिनीको मात्रा घटाउँदै छ । पछिल्लो समय विश्वमा देखा परेका अत्यधिक मोटोपनादेखि जलवायु परिवर्तनसम्मका विभिन्न समस्याको समाधान गर्ने लक्ष्यलाई समर्थन जनाउन कम्पनीले विश्वभरि आफूले उत्पादन गर्ने पेय पदार्थमा चिनीको मात्रा घटाउने लक्ष्य लिएको हो । पछिल्लो लक्ष्यअनुसार सन् २०२५ सम्ममा कम्पनीका दुई तिहाइ पेय पदार्थमा १ सयभन्दा थोरै क्यालोरी प्रयोग हुने बताइएको छ ।

यसअघि कम्पनीले सन् २०२० सम्ममा केही बजारमा विक्री हुने पेय पदार्थमा चिनीको मात्रा २५ प्रतिशतले घटाउने लक्ष्य लिएको थियो । पछिल्लो समय पेप्सीको, कोका–कोलाजस्ता बहुराष्ट्रिय हल्का पेय उत्पादक कम्पनीहरूमाथि स्वास्थ्यविज्ञ र सरकारले दबाब दिन थालेपछि पेप्सीकोले यस्तो कदम चालेको हुन सक्ने विश्लेषण गरिएको छ । यस्ता कम्पनीकै कारण विश्वमा अत्यधिक मोटोपना, मधुमेहलगायतका रोगहरू बढेको आरोप लाग्दै आएको छ ।

-एजेन्सी