-हिमांशु चौधरी/वीरेन्द्र कर्ण 
जनकपुरधाम । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको भोलि शुक्रबार हुने जनकपुरधाम भ्रमणका लागि आवश्यक तयारी पूरा भएको छ । 

प्रदेश नं २ का प्रदेश सरकार तथा जनकपुरधाम उपमहानगरपालिकाले युद्धस्तरमा पूर्वाधार निर्माण गरी तयारी पूरा गरेको हो । 

प्रदेश सरकार र उपमहानगरपालिकाले सडक र मञ्च निर्माण, जानकी मन्दिरदेखि बाह्रबिघासम्म रङ्गरोगन, जनकपुरधामको सौन्दर्यकरण र स्वागतद्वार निर्माण कार्य सम्पन्न गरेको छ । 

भारतको पटनाबाट सिधै जनकपुरधाम आउनुहुने भारतीय प्रधानमन्त्री मोदीको हेलिकप्टर अवतरणका लागि जनकपुर विमानस्थलमा तीन वटा हेलिप्याडको निर्माण गरिएको छ । भारतीय वायुसेनाका तीन हेलिकप्टरबाट प्रधानमन्त्री मोदी र उहाँको टोली शुक्रबार बिहान १० बजे जनकपुर विमानस्थलमा अवतरण गर्नेछ । 

जनकपुर विमानस्थलमा भारतीय प्रधानमन्त्री मोदीलाई रक्षामन्त्री ईश्वर पोखरेल र प्रदेश नं २ का मुख्यमन्त्री लालबाबु राउतले स्वागत गर्नुहुने कार्यक्रम रहेको छ । 

प्रधानमन्त्री मोदाी जनकपुर विमानस्थलबाट विद्यापति चोक, विश्वकर्मा चोक, जिरोमाइल चोक र रामानन्द चोक हुँदै जानकी मन्दिर र त्यसपछि बाह्रबिघा रङ्गभूमि मैदानमा हुने नागरिक अभिनन्दन समारोहमा सहभागी हुनुहुने कार्यक्रम मुताबिक ती बाटामा पर्ने सडकलाई कालोपत्र गरिएको छ भने सडकको दुवैतिरका पर्खाललाई केशरिया रङले सिङ्गारिएको छ । 

त्यसैगरी, जानकी मन्दिरदेखि बाह्रबिघासम्मका पर्खालमा रामायणकालीन आख्यानलाई मिथिला कलामार्फत प्रस्तुत गरिएको छ । 

कार्यतालिकाअनुसार भारतीय प्रधानमन्त्री मोदी जनकपुर विमानस्थलबाट जानकी मन्दिर आउनु हुने र सो मन्दिरमा उहाँले षोडशोपचार विधिबाट विशेष पूजा अर्चना गर्नु हुनेछ । विशेष पूजाका बेलामा १०१ पण्डितले शंख बजाउने कार्यक्रम रहेको छ । 

जानकी मन्दिरमा प्रधानमन्त्री केपी शर्मा ओलीको समेत उपस्थिति रहने छ । 
जानकी मन्दिरमा दुवै देशका प्रधानमन्त्रीले संयुक्त रूपमा रामायण सर्किटको उद्घाटन तथा हरियो झण्डा देखाएर जनकपुरधाम–अयोध्या बस सेवा आरम्भ गर्नुहुनेछ । 

त्यसपछि, प्रधानमन्त्री मोदी प्रदेश सरकार र जनकपुर उपमहानगरपालिकाद्वारा बाह्रबिघामा आयोजना हुने नागरिक अभिनन्दन समारोहमा सहभागी हुनुहुनेछ । 

प्रधानमन्त्री मोदीलाई जनकपुरधाम उपमहानगरपालिका प्रमुख लालकिशोर साहले कलात्मक साँचो हस्तान्तरण र नागरिक अभिनन्दन गर्नुहुने कार्यक्रम छ । 

भारतीय प्रधानमन्त्री मोदीको जनकपुरधाम भ्रमणलाई दृष्टिगत गरी प्रदेश सरकारले प्रदेशमा सार्वजनिक बिदाको घोषणा गरेको छ । 

यसैबीच, भारतीय प्रधानमन्त्री मोदीको जनकपुरधाम भ्रमणलाई सुरक्षित र व्यवस्थित बनाउन सघन सुरक्षाको व्यवस्था गरिएको सशस्त्र प्रहरी बल रूद्रवाहिनी पथलैयाका बाहिनीपति कवीन्द्रमान श्रेष्ठले बताउनुभयो । 

प्रधानमन्त्री मोदीको भ्रमणलाई ध्यानमा राखी पूर्वको सप्तरीदेखि पश्चिममा पर्सा जिल्लासँग जोडिएको नेपाल–भारत सीमा नाकामा सुरक्षा व्यवस्था कडा पारिएको छ । 

सीमा नाकाबाट आवतजावत गर्ने सर्वसाधारणको जाँचलाई पनि कडा गरिएको देखिएको छ ।