काठमाण्डौ । बैशाख १६ गते एकाएक पूर्वराजा ज्ञानेन्द्र शाह जेट एयरको विमानबाट दिल्लीतर्फ उडे । कांग्रेसका सभापति शेरबहादुर देउवाको दिल्ली तीर्थाटन सकिएलगत्तै पूर्वराजा अकस्मात ‘अर्जेन्ट बोलावट भयो’ भन्दै दिल्लीतर्फ उडेको बिषय नेपाली राजनीतिमा ‘हट केक’ बन्यो । दिल्लीमा पाकिरहेको कुनै खिचडीको एक हिस्सा बनाउन उनलाई डाकिएको सर्वत्र अनुमान भए पनि त्यहाँ उनको को–कोसँग भेट भयो र के–के भयो भन्ने बिषय खुल्न सकेन । २४ घण्टाका लागि दिल्ली गएको भनिए पनि पूर्वराजा ‘उडान डिले’को कारण देखाउँदै दुई रात उतै बसे । नेपाल फर्किएर पनि उनी सोझै नागार्जुन दरबार गएनन् । नाटकीय ढंगले केही घण्टा हराएका उनलाई त्रिशूलीमा परिवारका सदस्यसँगै र्याफिटङको मज्जा लुट्दै गरेको साधारण भेषमा देखियो । आखिर एकाएक दिल्लीबाट फर्किएका राजा परिवारसँग रमाइलो गर्न किन त्रिशूली पुगेका थिए ? उनलाई दिल्लीमा किन बोलाइएको थियो ? त्यहाँ उनको को–कोसँग भेट भएको थियो ? पूर्वराजा ज्ञानेन्द्रको दिल्ली दौडको क्रममा के–के भएको थियो ? यी यावत जिज्ञासाहरुले सबैलाई चिमोटिरहेको बेला बिजशालाले पूर्वराजा ज्ञानेन्द्रको दिल्ली दौडाहाभित्रका केही गुह्य तथ्यहरु फेला पारेको छ । 

यो क्रममा केही रोचक तथ्य समेत फेला परेका छन् । पत्नीको उपचारको नाममा दिल्ली गएका कांग्रेस सभापति शेरबहादुर देउवाले त्यहाँ भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई भेट्ने अनेक प्रयास गरेका थिए । तर मोदीको व्यस्तताको कारण देखाउँदै भेट गर्ने वातावरण मिलाइएन । मोदीले दोश्रो बरियताका नेता तथा विभिन्न एजेन्सीका अधिकारीहरुलाई परिचालन गरी देउवासँग गोप्य छलफल चलाएका थिए । नेपालको सबैभन्दा ठूलो दल कांग्रेसका सभापति देउवालाई भेट्ने आतुरता नदेखाएका तिनै मोदीले फोन गरेर बोलाएपछि पूर्वराजा हतारिँदै र उत्साहित हुँदै दिल्ली उडेका स्रोतले खुलाएको छ । रोचक त के भने देउवाले प्रयास गर्दा दर्शन नदिएका भारतीय प्रधानमन्त्री मोदीसँग पूर्वराजा ज्ञानेन्द्रको दिल्लीमा भेट मात्र भएन, निकै लामो समयसम्म गोप्य डिजाइनको बिषयमा कुराकानी पनि भयो । 

मोदी र पूूर्वराजाबीच राजसंस्थालाई हिन्दू धर्मको जगमा टेकी कुनै न कुनै रुपमा पुनस्र्थापना गर्ने गोप्य सहमति भएको दिल्लीस्थित उच्च स्रोतले जानकारी दिएको छ । देउवालाई भेट नदिए पनि मोदी आफैंले फोन गरेर पूर्वराजालाई बोलाउनु र उनीसँग घण्टौ छलफल गरी एउटा डिजाइन तयार गर्नुलाई निकै महत्वपूर्ण र गम्भीर रुपमा हेरिएको छ । 

के हो डिजाइन ?
उच्च स्रोतकाअनुसार भारतीय प्रधानमन्त्री मोदीको अगुवाईमा भएका छलफलहरुमा पूर्वराजा ज्ञानेन्द्रलाई सहभागी गराएर राजसंस्थाको कुनै न कुनै रुप पुनस्र्थापनाको डिजाइन तयार भएको छ । दिल्लीमा पूर्वराजा ज्ञानेन्द्रले भारतीय गुप्तचर संस्था ‘रअ’का केही पूर्व प्रमुखहरुसँग समेत भेट गरेका थिए । अन्य दलका उच्चपदस्थ नेताहरुसँग समेत पूर्वराजाको भेट भएको थियो । यो पटक मोदी मात्र होइन, गुप्तचर एजेन्सीका अधिकारी, अन्य दलका नेताहरु समेत नेपालमा राजसंस्था पुनस्र्थापनाको पक्षमा उभिएका छन् । स्रोतले भन्यो–‘भारतले राजसंस्था पुनस्र्थापनाका लागि ठूलै शक्ति लगाउने स्पष्ट संकेत देखिएको छ ।’ 

स्रोतका अनुसार पूर्वराजासँगको गोप्य बैठकहरुको क्रममा नेपालमा राजनीतिक दलहरु जनताको नजरमा नकारात्मक पात्रको रुपमा देखिएका र दलप्रतिको नकारात्मकता बढिरहेको यही बेला नै केही अस्थिरता पैदा गरी राजसंस्थाप्रति नेपालमा बढ्दो समर्थनलाई बढाएर दवाब सिर्जना गरी राजतन्त्र पुनस्र्थापना गर्ने योजना बनाइएको छ । त्यसका लागि हिन्दू धर्मको हतियारलाई प्रयोग गर्ने र सुरुमा नेपाललाई हिन्दू राष्ट्र कायम गराउने दिशामा आन्दोलन, बन्दहड्ताल र गतिविधिहरुलाई तीव्र पार्ने समेत गोप्य सहमति भएको छ । मधेशवादी दलहरुलाई समेत परिचालन गर्ने र उनीहरुले समेत हिन्दू राष्ट्रको पक्षमा चर्को दवाब सिर्जना गर्नेछन् । कांग्रेस, एमालेकै ठूलो समूह, एमाओवादीका केही नेता र नयाँ शक्तिको नेतृत्व गरिरहेका बाबुरामलाई समेत आफूहरुले परिचालन गर्नसक्ने भन्दै भारतीय अधिकारीहरुले सो क्रममा भनेका बुझिएको छ । यसरी आफ्ना समर्थक सबै दलका नेताहरुलाई प्रयोग गरी हिन्दूराष्ट्रको पक्षमा जनउभार सिर्जना गर्ने तयारी भारतको छ । यसका लागि नेपालमा राजनीतिक स्थिरता कायम हुन नदिने, संविधानसभाबाट बनेको संविधानलाई कार्यान्वयन हुन नदिने, संविधान कार्यान्वयन हुन नदिनकै लागि विभिन्न समूहहरुलाई उचालेर अस्थिरता पैदा गरिरहने भारतीय रणनीति रहेको छ । 

अन्ततः धर्मको नारामा सबैलाई समाहित गराई हिन्दू राष्ट्र कायम गराउने र त्यो उपलब्धिपछि हिन्दूहरुको सम्राटको रुपमा पूर्वराजा ज्ञानेन्द्र वा उनका नातिलाई अगाडि बढाई राजतन्त्र पुनस्र्थापना गर्ने भारतीय डिजाइन रहेको स्रोतको दाबी छ । नेपालमा हिन्दू राष्ट्र स्थापनाका लागि विभिन्न शक्तिशाली योगी र बाबाहरुलाई समेत परिचालन गर्ने, नेपालमा हिन्दू राष्ट्र स्थापनाका लागि भारतबाट समेत दवाब सिर्जना गर्ने योजना समेत मोदीको रहेको छ । 

मोदी आफैं कट्टर हिन्दूवादी नेता हुन् । उनी सत्तामा पुगेपछि भारतमै पनि मुस्लिमहरुमाथिको विभेद उत्कर्षमा पुगेको छ । केही दिनअघि एक अमेरिकी अनुसन्धान एजेन्सीले मोदीले सत्ता सम्हालेदेखि गैरहिन्दूमाथि निर्मम अन्याय र दमन हुने गरेको रिपोर्ट सार्वजनिक गर्दै भारतमाथि हस्तक्षेप गर्न अमेरिकालाई सुझाव नै दिएको थियो । यसबाट समेत मोदी हिन्दू राष्ट्र वा हिन्दूत्वको पक्षमा के सम्म गर्नसक्छन् भन्ने देखिएको छ । 

यसैबीच, नेपालमा हिन्दू राष्ट र त्यसको आडमा हिन्दू सम्राटको पुनरागमनका लागि भारतको उज्जैनमा आयोजना हुन लागेको कुम्भ मेलाबाटै विशेष अभियानको हिन्दू धर्मका गुरुहरुले घोषणा गर्ने कार्यक्रम रहेको बताइएको छ । हिन्दू राष्टको पक्षमा त्यहाँ माहौल सिर्जना हुने सूइँको पाएरै कुम्भमेलामा सहभागी हुने मुख्य उद्देश्यसहितको भारतको भ्रमणका लागि खुट्टा उचालेर बसेकी राष्टपति विद्यादेवी भण्डारीको सन्निकट भ्रमणलाई मन्त्रीपरिषद बैठकले स्वीकृत नगरेको समेत केही संचारमाध्यमहरुले दाबी गरेका छन् । 

समग्रमा नेपालमा हिन्दू राष्ट र त्यसको जगमा हिन्द्र सम्राट स्थापनका लागि उज्जैनको कुम्भ मेलाबाटै बिगुल फुकिने र नेपाल केन्द्रीत अभियानलाई तीव्र पार्ने भारतीय योजना रहेको छ । स्रोतका अनुसार पूर्वराजा ज्ञानेन्द्र भारतको अभूतपूर्व साथ पाएपछि खुशी हुँदै स्वदेश फर्किएका हुन् । उनले खुशी मनका साथ स्वदेश फर्किएलगत्तै परिवारका सदस्यसँग त्रिशुलीमा रयाफ्टिंगको मज्जा लिन पुगेका थिए । केही वर्षमै अहिलेको सत्ता पलट भई आफ्नो दिन फिर्ने पूर्वराजाको बुझाई रहेको उनी निकटस्थहरुले बताउन थालेका छन् । 

चीनलाई देखाइदिने
पछिल्लो समय सत्ता गिराउने खेलमा भारतीय डिजाइन फेल भए पनि भारतीय प्रधानमन्त्री मोदी र अन्य एजेन्सीका अधिकारी आफ्नो दीर्घकालीन डिजाइनमा एक इञ्च पनि टसमस भएका छैनन् । भारतलाई प्रधानमन्त्री ओली र प्रचण्डको चीनसँगको निकटता मन परेको छैन । चीनसँग बढेको नेपालका सत्तासीनहरुको हिमचमका कारण आफ्नो स्वार्थ पूरा नहुने देखेको भारतले जसरी हुन्छ ओली सरकारलाई गिराइछाड्ने योजना बनाएको छ । यसका लागि कांग्रेसलाई अगाडि बढाउने, एमाओवादीका अध्यक्ष लगायतका केही नेताहरुलाई आफ्नो बसमा पार्ने, कतिपयलाई अख्तियारको डर देखाएर भए पनि आफ्नो योजनामा सहमत गराइछाड्ने उसको योजना रहेको स्रोत दाबी गर्छ । आफ्नो अनुकूलको नेपाली नेतालाई सत्तामा ल्याएर उसको आडमा नेपालमा रहेको अथाह प्राकृतिक स्रोत र सम्पदामा एकलौटी राज गर्ने र भूटानजस्तो भारतसंरक्षित मुलुककै रुपमा नेपाललाई समेत नियन्त्रणमा राख्ने भारतीय नीति रहेको समेत स्रोतहरुले दाबी गरेका छन् । तर भारतका लागि नेपाललाई भूटानजस्तै हातमा लिन त्यति सजिलो छैन । पछिल्लो समय भारतविरुद्ध बढेको जनलहर र राष्ट्रियता तथा स्वाभिमानको पक्षमा बढेको जनमतले भारतीय रणनीति सहजै सफल हुने अवस्था देखिन्न । भारतका अन्य स्वार्थ पूरा नभए पनि हिन्दू राष्ट्र र राजसंस्थाको कुनै न कुनै रुपको पुनस्र्थापनाको संभावना चाहि बढी नै रहेको एजेन्सीहरुको दाबी छ । पछिल्लो समय हिन्दू राष्ट्रप्रति नेपालमा भित्रभित्रै ठूलै जनलहर सिर्जना भइरहेको छ । यही समर्थन र जनलहरलाई राजावादीहरुले आफ्नो अनुकूलमा प्रयोग गर्ने खतरा अधिक छ ।