काठमाण्डौ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी शुक्रबार र शनिवार २ दिने भ्रमणको क्रममा नेपाल आउँदैछन् । सो क्रममा काठमाण्डौको यातायात व्यवस्था प्रभावित हुने र केही रुटमा गाडी समेत नचल्ने बताइएको छ । 

मोदीको सवारी हुने रुटमा केही समयसम्म सार्वजनिक यातायात ठप्प पारी सडक नै खालि गरिने टाफिक प्रहरीले जनाएको छ । 

सार्वजनिक गरिएको तालिका अनुसार मोदीको भ्रमण शुक्रबार बिहान ९ बजेदेखि सुरु हुनेछ । उनी ठीक ९ बजे जनकपुर आइपुग्नेछन् । त्यहाँ उनले नेपालका समकक्षी प्रम केपी ओलीसँगै जानकारी मन्दिरमा ६ मिनेट पूजा गर्नेछन् र त्यहाँबाट मोदी नागरिक अभिनन्दन समारोहमा सरिक हुनेछन् । ती दुई कार्यक्रम सकेर करिब डेढबजेतिर उनी हेलिकोप्टरबाट काठमाण्डौस्थित त्रिभुवन विमानस्थलमा अवतरण हुनेछन् ।  

त्यहाँबाट उनी बौद्धस्थित ह्यात होटलमा खाना खान जानेछन् । सो क्रममा कोटेश्वर, गौशाला, चाबहिल र बौद्ध रुटको सवारी आवागमन केही समय बन्द हुनेछ ।

खाना खाई केही समय भेटघाटमा सरिक भएपछि नेपाल सरकारबाट दिइने गार्ड अफ अनर ग्रहण गर्न मोदी करिब ४ बजेतिर टुँडिखेलको सैनिक मञ्चमा पुग्नेछन् । त्यसक्रममा चावहिल, गौशाला, एयरपोर्ट, तीनकुने, बानेश्वर, माइतीघर मण्डला, भद्रकाली लगायतका क्षेत्रको यातायात आवागमन ठप्प हुनेछ । 

त्यहाँबाट मोदी साढे ४ बजे उपराट्रिपति नन्दबहादुर पुनलाई बहादुर भवनमा गएर भेट्नेछन् । सो क्रममा जमल, दरबारमार्ग, रत्नपार्क, बागबजार, पुतली सडक लगायतका क्षेत्रको सडकको आवागमन प्रभावित हुने प्रहरीले जनाएको छ । 

त्यसपछि उनी राष्ट्रपतिलाई भेट्न शितल निवास पुग्नेछन्। सो क्रममा लैनचौर, महाराजगञ्ज लगायतको रुटमा सवारी आवागमन बन्द हुनेछ । प्रहरीका अनुसार राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेट गरी मोदी महाराजगञ्ज, चाबहिल,  गौशाला हुँदै द्वारिकाज होटेल पुग्ने छन्। 

सो होटलमा उनले प्रधानमन्त्री केपी शर्मा ओली लगायत विभिन्न दलका नेताहरुसँग भेट्ने कार्यक्रम छ । मोदी बेलुका बौद्धस्थित ह्यात होटलमा बास बस्नेछन् । 

त्यसपछि शनिवार बिहानै उनी बौद्धबाट मुक्तिनाथ जान विमानस्थल पुग्नेछन्। सो क्रममा बौद्ध, चाबहिल, गौशाला, सिनामंगल क्षेत्रको यातायात ठप्प हुने बताइएको छ । 

मुक्तिनाथको दर्शन तथा पूजाआजा गरी मोदी करिब ११ बजेतिर काठमाण्डौ फर्किने कार्यक्रम छ । उनी विमानस्थलबाट सोझै पशुपति मन्दिरमा पूजाअर्चना गर्न पुग्नेछन् । सो क्रममा एयरपोर्ट क्षेत्र, गौशाला, बत्तीसपुतली लगायतका क्षेत्रमा यातायात आवागमन ठप्प पारिनेछ ।

पशुपतिमा पूजा सकेर मोदी दिउँसो २ बजेतिर मोदी चावहिल हुँदै राष्टियसभा गृह पुग्ने कार्यक्रम छ । त्यहाँ उनको नागरिक अभिनन्दन हुनेछ । सो क्रममा सिनामंगल, तीनकुने, कोटेश्वर, बानेश्वर, मीनभवन, माइतीघर मण्डला, पुतली सडक लगायतका क्षेत्रको सार्वजनिक यातायात प्रभावित हुनेछ । भ्रमण सकेर मोदी दिउँसो ४ बजे भारत फर्किने कार्यक्रम छ ।