काठमाण्डौ । बर्खायाम सुरु भइसकेको छ । यदि पानी परिरहेको बेला तपाइँसँग रेनकोट वा छाता छैन भने तपाइँ त भिज्नुहुन्छ नै साथै तपाइँले बोकेका अत्यावश्यक वस्तुहरु पनि नराम्ररी भिज्ने गर्छ । भिजेको कपडा त धोएर पुनः सुकाउन सकिएला तर यदि जीवनको अभिन्न वस्तु बनिसकेको मोबाइल भिज्यो भने के गर्ने ? कतिपय अवस्थामा मोबाइल पानीले भिज्दा बिग्रेर नबन्नेसम्मको समस्या आइपर्छ । यस्तोमा हजारौँ रुपैयाँ खर्च गरेर किनिएको मोबाइल निल्नु न ओकल्नु सरह हुन्छ । 

त्यसैले आउनुहोस् पानीले मोबाइल भिज्यो भने कसरी जोगाउन सकिन्छ भन्नेबारे यी टिप्सहरु जानौँः–

सबैभन्दा पहिला मोबाइल स्विच अफ गर्नुहोस् : यदि तपाइँको मोबाइल पानीमा भिज्यो भने तुरुन्तै स्विच अफ गर्नुहोस् । यदि तपाइँको मोबाइल पहिलेदेखि नै स्विच अफ छ भने स्विच अन गर्दै नगर्नुहोला । पानीको एक थोपा पनि मोबाइलभित्र पस्यो भने यसको चिपमा जडित सर्किट्सहरु आपसमा जोडिने हुँदा बिग्रिन सक्छ । तपाइँको मोबाइलमा स्पार्किङ पनि हुन सक्छ । पानी मोबाइलमा पस्नासाथ त्यसमा जोडिएका इअर फोन, डाटा केबलजस्ता एक्सेसरिज तुरुन्त हटाउनुहोस् । 
 

ब्याट्री झिकिहाल्नुहोस् : यदि तपाइँको मोबाइलमा पानी पस्यो भने तुरुन्त मोबाइल स्विच अफ गरेर ब्याट्री झिक्नुहोस् । ब्याट्री निकालेपछि ह्यासेन्टमा ब्याट्रीको तल एउटा सानो स्टिकर चिप हुन्छ, जुन धेरैजसो मोबाइल फोनमा सेतो रङको हुन्छ । यदि तपाइँको मोबाइलमा पानी पसेको छ भने यो पिंक वा रातो कलरमा परिवर्तन भइसकेको हुन्छ । यदि मोबाइलभित्र थोरै चिसो भए पनि यो स्टिकरको रङ परिवर्तन हुन्छ । 

मोबाइल फोन सुकाउन हेयर ड्रायर र माइक्रो वेभको प्रयोग नगर्नुहोस् : भिजेको मोबाइल फोन सुकाउनका लागि कहिल्यै पनि माइक्रो वेभ वा हेयर ड्रायरको प्रयोग नगर्नुहोस् । यी साधनले मोबाइल फोनलाई थप क्षति पु¥याउनु सक्छ । भिजेको मोबाइल फोनलाई पंखाको अगाडि राखेर हावा चलाएर सुकाउने कोसिस गर्नुहोस् । 

पानी सुकाउनुहोस् : कुनै हार्डवेयर वा कस्मेटिकमा गएर पानी सोस्ने वस्तु ल्याउनुहोस् र त्यसमा मोबाइललाई बेरेर दुई दिनसम्म राख्नुहोस्। मोबाइलको पानी त्यसले पूरै सोसिदिन्छ । तपाइँले चामल भरिएको भाँडाभित्र भिजेको मोबाइल राखेर पनि मोबाइलमा पसेको पानी सुकाउन सक्नुहुन्छ । त्यसका लागि तपाइँले भिजेको मोबाइल एक दिन र एक सात त्यो चामल भरिएको भाँडामा राख्नुपर्ने हुन्छ । 
तर याद राख्नुहोस् भिजेको मोबाइल कहिल्यै घाममा नसुकाउनुहोस् ।

मोबाइल सुकेपछि पुनः रिस्टार्ट गर्नुहोस् : जब तपाइँको भिजेको मोबाइल पूरै सुक्छ त्यसपछि त्यसमा ब्याट्री र सिम हालेर रिस्टार्ट गर्नुहोस् । यदि यति गर्दा पनि तपाइँको मोबाइल स्क्रिनमा लाइनमात्र आइरहेको तर बटनहरु चलिरहेको छैन भने तुरुन्तै मोबाइल बनाउने ठाउँमा जानुहोस् । – एजेन्सी