पथरी (मोरङ)। उद्योगी मोतिलाल दुगडले एक अर्बभन्दा बढीको लगानीमा विराटनगरमा ११ तले सपिङ कम्प्लेक्स निर्माण अघि बढाएका छन् । 

पूर्वाञ्चलको आवश्यकतालाई मध्यनजर गरेर उद्योगपति दुगडले विराटनगर–७ स्थित शिव मन्दिर छेउमा महल निर्माण सुरु गरेको बताए ।

एकै स्थानमा सबै सुविधा उपयोग गर्न पाइयोस् भन्ने उद्देश्यले महल निर्माण सुरु गरेको यो महल सम्भवतः नेपालकै ठूलो महलका रुपमा स्थापित हुने र भारतीय सीमाक्षेत्र जोगवनीले जस्तै यो महलको निर्माणले नेपाली ग्राहकलाई आकर्षित गर्ने उनले जानकारी दिए ।

जमिन मुनिको तलामा २५० भन्दा बढी सवारी साधन एकैपटक राख्न सक्ने गरी निर्माण भइरहेको सो महलभित्र सपिङ सेन्टर, डिपार्टमेन्टल स्टोर्स सञ्चालनमा ल्याइने उद्योगी दुगडको भनाइ छ । डिपार्टमेन्टल स्टोर्स पुग्नका लागि लिफ्ट वा बिजुलीबाट चल्ने सिँढी राखिने, महलभित्र हेल्थ क्लब, फुटर्कार्ट, थ्रिडी सिनेमा हल र बच्चाका लागि वाटर पार्क, प्ले जोनको निर्माण हुनेछ ।

पाँचतारे होटल, स्विमिङ पुल, सभा समारोह गर्ने थिएटर, हलसमेत रहने महल व्यवस्थापनले जनाएको छ । एक बिगाहा छ कट्ठा जमिनमा निर्माण हुन लागेको मलमा एक सयभन्दा बढी कोठा रहने र मलको पछिल्लो भागमा होटल रहने छ ।